विराटनगर । कोेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयताको औचित्य पुष्टि गर्नु पर्ने बेला आएको बताएका छन् । गणतन्त्र दिवसको सन्दर्भमा शुभकामना दिँदै उनले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि आजको दिनमा थप सुदृढ राष्ट्रिय एकता जरुरी भएको बताए ।  ‘संविधान अनुरूप राज्य संयन्त्रमा भएको परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुने छ, उनले भने, गणतन्त्रसँगै स्थापित भएको सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्दै जनअपेक्षा अनुरूप शासन सञ्चालन गर्नु र प्रदेशको औचित्य स्थापित गर्नु आजको प्रमुख जिम्मेवारी हो ।’ 
मुख्यमन्त्री कार्कीले १७औँ गणतन्त्र दिवसको अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा जनताको जित भएको विशेष दिनका अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका हुन्  । 
‘नेपाल आमाका हजारौँ छोराछोरीको बलिदानको बलमा प्राप्त गणतन्त्रलाई संस्थागत गर्दै संविधानको कार्यान्वयन गर्ने आजको हाम्रो प्रमुख कर्तव्य हो, शुभकामना सन्देशमा भनिएको छ , त्यसबाट मात्र सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तलाई कार्यान्वयन गर्न सकिन्छ । राज्यको सर्वोच्च ओहोदामा रहेका पदाधिकारीहरूको पहिलो कर्तव्य त्यही हो ।’

संविधानको मर्म र भावना अनुसार अघि बढ्न, राष्ट्र हित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुँदै उद्देश्यप्रति समर्पित हुन सबैमा उनले शुभकामना दिएका छन् । 

WhatsApp Image 2024-05-28 at 00.21.54