विराटनगर । आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रम धान रोजगार मेला’ आयोजना गर्ने भएको छ। नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहु आयामिक आवश्यकतालाई एक द्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले ‘श्रम धान रोजगार मेला’ आयोजना गर्न लागिएको हो ।
देशका सातै प्रदेश मध्ये कोहीमा हुने श्रम धान रोजगार मेला बारेमा पत्रकार सम्मेलनको आयोजना गरी विराटनगरमा १७ गतेदेखि श्रम धान मेलाको आयोजना हुने जानकारी दिइएको हो । कोशी प्रदेशबाट आरम्भ हुने मेलाको भव्य कार्यक्रमबिच मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ आयोजना गरिएको मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्र बिचको साझेदारीलाई प्रवर्द्धन गर्नु रहेको बताए । मेलालाई सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रूपमा लिइएको छ ।
रोजगार मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दु स्थल हुनेछ,, उनले भने, नेपाल सरकारले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्न ‘श्रम धान रोजगार मेला’को महत्त्वपूर्ण भूमिका रहनेछ ।
राउतले विराटनगर प्रदेशकै करिब ७० प्रतिशत उद्योग व्यवसाय भएको क्षेत्र भएकाले रोजगार मेलाको निकै ठुलो महत्त्व रहेको बताए । ‘यहाँका उद्योगले स्वदेशी कामदार नपाएको स्थिति छ, पारि (भारतीय)कामदारबाट काम चलाउनुपर्ने बाध्यतामा हामी छौँ,’ उनले भने, ‘मेलाले स्वदेशी कामदार र विदेशमा सीप सिकेर फर्किएर कामदारलाई अवसर दिलाउने विश्वास छ ।’
मेलामा श्रमिक तथा सरोकारवालाले रोजगारीसँग जोडिएका गुनासा पनि राख्न सकिने आयोजकले जनाएको छ। मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने र अवसरको पहिचान कसरी गर्ने भन्ने विषयमा पर्याप्त जानकारी पाउन सक्नेछन्, उनले भने, रोजगारीका लागि आवश्यक सीपका बारेमा पनि मेलामा जानकारी गराइनेछ । सम्बन्धित निकायले रोजगारीका क्षेत्रमा देखिएका समस्या तथा गुनासा सुनेर समाधानका उपाय निकाल्ने वातावरण पनि बन्नेछ ।
मेलाको उद्देश्य आन्तरिक रोजगारी प्रवर्धनसँगै वैदेशिक रोजगारी व्यवस्थित गर्नु पनि हो । वैदेशिक रोजगारीका सन्दर्भमा आवश्यक सूचना प्रवाह गर्ने तथा वैदेशिक रोजगारीका नाममा भइरहेको ठगीलाई न्यूनीकरण गर्ने सन्दर्भमा पनि मेला फलदायी हुनेछ । मेलामा वैदेशिक रोजगार बोर्ड, सामाजिक सुरक्षा कोष तथा विभिन्न म्यानपावर कम्पनीका छाता सङ्गठनको सहभागिता रहनेछ ।
विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा श्रम मन्त्रालयका उपसचिव एवं कोशी प्रदेश संयोजक सुशील प्रसाद आचार्यले मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । ‘यो मेला बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्यको सुरुवात हो,’ उनले भने, ‘अबको १५ वर्षपछि बाध्यात्मक रूपमा विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने गरी डाटाबेस बनाउने हाम्रो तयारी छ ।’
आगामी वर्षदेखि सातै प्रदेश र पालिका स्तरमा पुग्ने गरी बजेट विनियोजन गर्ने मन्त्रालयको तयारी रहेको उनले जानकारी गराए । ‘मेला रोजगार दिने र माग्नेबिचको सेतु भएकाले स्थानीय स्तरसम्म यसलाई लैजान जरुरी छ,’ उपसचिव आचार्यले भने, ‘मन्त्रालयले सोहीअनुसार तयारी गरिरहेको छ ।’ मेलापछि मन्त्रालयले रोजगार बैङ्क बनाउने, जसमा रोजगारीका अवसर र प्रकृतिदेखि बेरोजगारको तथ्याङ्क र क्षमताबारे स्पष्ट उल्लेख हुने उनले जनाए ।
श्रम मन्त्रालय र मातहतका सबै निकाय एवं विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहने मेलामा सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ, होटेल सङ्घ नेपाललगायतले पनि स्टल राख्नेछन् ।
मेला हरेक प्रदेशमा दुई दिन चल्नेछ । जेठ १७ गते कोशी प्रदेशबाट सुरु हुने यो मेला बागमती प्रदेशमा जेठ ३० गते समापन हुनेछ । कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते, मधेस प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बागमतीको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ ।
विराटनगरको सिटी प्यालेस होटेल एन्ड रिसोर्टमा आयोजना हुने दुई दिने मेलाका लागि उद्योगी व्यवसायी लगातका ५० स्टल रहने नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले जनाएको छ । मेला अवधिमै कम्तीमा ५ सय युवाको रोजगारी ग्यारेन्टी हुने अध्यक्ष राउतले बताए ।