विराटनगर । देशकै जेठो उद्योग विराटनगर जुट मिल पुन सञ्चालन गर्ने सरकारले तयारी गरेको छ । आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले बन्द अवस्थामा रहेको विराटनगर जुट मिल सञ्चालनमा ल्याउने बताएका छन् ।  उनले निजी साझेदारीमा सो उद्योग सञ्चालन गर्ने बताए । विराटनगर जुट मिल वि सं १९९३ मा स्थापित भएको हो । यो उद्योग नेपालको पहिलो उद्योग हो । उद्योगको नाममा  ६९ बिघा जग्गा रहेको छ ।
उनले विराटनगर जुट मिलसँगै हेटौडा कपडा उद्योग र  गोरखकाली रबर उद्योग पनि सञ्चालन गर्ने बताएका छन् । उनले बन्द रहेका यस्ता उद्योग सार्वजनिक निजी साझेदारीमा सञ्चालनमा ल्याइने बजेट वक्तव्यमा बताएका छन् । उनले बन्द उद्योग सञ्चालनका लागि कति बजेट  विनियोजन गर्ने भन्ने बारेमा केही बताएनन् ।