विराटनगर । कोशी प्रदेश सभाका सदस्य जीवन आचार्यले कोशी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई बिहानीले दिनको सङ्केत गरे झैँ  नीति तथा कार्यक्रम राम्रो सङ्केत दिएको बताएका छन् । कोशी प्रदेश सभामा नीति तथा कार्यक्रम माथि छलफल गर्ने क्रममा उनले  नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेट्ने प्रयास गरेको बताए । उनले यो नीति तथा कार्यक्रममा टेकेर आगामी आर्थिक वर्षको सुन्दर बजेट बनाउन सकिने भएकोले त्यसको ढोका यो नीति तथा कार्यक्रमले खोलेको उल्लेख गरे ।  नीति तथा कार्यक्रम राम्रो भए पनि कोशी प्रदेशमा  धेरै दायित्व सिर्जना भएकाले  त्यसको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने आशङ्का उब्जिएको बताए । ‘हाम्रो प्रदेशमा यस अघि नै धेरै दायित्वहरू सिर्जना भएका छन्, नीति तथा कार्यक्रममा टेकेर बजेट आउँछ की आउँदैन भन्ने शङ्का रहेको छ, उनले भने,  यो नीति तथा कार्यक्रमको सुन्दर पक्ष भनेको मितव्ययिता,   बेरुजु घटाउने कुरा गरेको छ ।’ मुख्य गरी वित्तीय अनुशासनको कुरा नीति तथा कार्यक्रमले अनुसरण गरेको उनले बताएका छन् ।  ‘जहाँ मन लाग्यो त्यही खर्च गर्दा प्रदेशमा दायित्व बढेको छ, उनले भने, वित्तीय अनुशासन असाध्यै महत्त्वपूर्ण छ ।’ 
कर्मचारी सरुवा, शिक्षा स्वास्थ्य, रोजगारी, कृषि र पर्यटनको कुरालाई पनि उनले राम्रो मानेका छन् । विराटनगरको क्रिकेट रङ्गशाला पुन निर्माण गरी प्रदेशले सञ्चालन गर्ने,  पर्यटनसँग जोडिएको विराट दरबार र बर्जू तालका कुराहरू पनि समेटिएकोमा उनले खुसी व्यक्त गरे । 
सङ्घीयता कार्यान्वयनको सन्दर्भमा ७ वर्ष पुग्न लागिसक्दा पनि प्रदेशले  अन्तर्राष्ट्रिय सम्बन्धको विस्तार गर्न नसकेको आरोप लगाए  । ‘अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने कुरा  सङ्घीय सरकार मातहतको भए पनि महानगरहरूले भगिनी सम्बन्ध स्थापित गरी विकासमा गति लिई सकेका छन्, उनले भने,  सङ्घीय सरकारसँग अनुमति लिएर कानुन नै बनाएर यसमा प्रदेशले काम गर्नु पर्छ ।’
सङ्घीय सरकारको सहयोगमा मित्रराष्ट्र सम्बन्ध बनाउने विषयमा नीतिगत व्यवस्था गरिनु पर्ने उनको दाबी छ ।

विराटनगरबाट माउन्टेन फ्लाइट गर्न  सङ्घीय सरकारले जहाज दिँदा प्रदेशले खर्च गरेर जहाज चलाउन सकिने भनिएको थियो त्यो पनि कार्यान्वयन हुन नसकेको स्मरण गरे ।  कोशी प्रदेश सभामा मङ्गलवारदेखि नीति तथा कार्यक्रम माथिको छलफल सुरु भएको छ।