विराटनगर । तेह्रथुमको छथर गाउँपालिका–२ सरस्वती माध्यमिक विद्यालयकी चन्दा श्रेष्ठ हरेक दिन विद्यालयको सेवामा व्यस्त हुन्छिन् । बिहान १० बज्दा नबज्दै विद्यालय पुगेर उनी विद्यार्थीको सेवामा लागिहाल्छिन् ।

झापाको काँकडभिट्टा घर भएकी उनी यहाँ विद्यालय नर्स भएर आएको ४ वर्ष भइसकेको छ । प्राथमिक स्वास्थ्य, पोषण, स्यानेटरी प्याड वितरण र त्यसको डिस्पोज गर्न सहजीकरणमा उनको भूमिका महत्वपूर्ण छ । विद्यालय हाता सरसफाईको सहजीकरण गर्ने कामको नेतृत्व पनि उनकै जिम्मेवारीमा राखिएको विद्यालयले जनाएको छ । विद्यालयभित्र अस्वस्थकर खाना ल्याउन र खान नदिनु, त्यस्ता खानेकुराबाट हुने हानिको बारेमा बालबालिकालाई उनी बुझाई रहेकी हुन्छिन् ।

विद्यालय नर्सिङ कार्यक्रम चलेको अर्को विद्यालय हो– भोजपुरको हतुवागढी गाउँपालिका–१ घोडेटारमा रहेको सगरमाथा मावि । २०७७ फागुन ११ गतेदेखि साङ्गेन केयु नापाछा राई विद्यालयमा नर्स नियुक्त भएर आएकी हुन् । ८५० जना विद्यार्थी रहेको यो विद्यालयमा विद्यार्थीको सेवा गर्नु उनको दैनिकी हो ।

ghodetar_Bhojpur (3)

दैनिक २५ देखि ३० विद्यार्थी केही न केही समस्या लिएर उनीसम्म पुग्छन् । केहीलाई सामान्य परामर्श मात्र भए पुग्छ भने कतिपय विद्यार्थीहरुको अवस्था उपचार नै गर्नु पर्ने खालको पनि हुने गरेको राईले बताइन् । विद्यालयमा बिहान १० बजे पुगेपछि ४ बजेसम्म विद्यालय परिसरमै उनको समय विद्यार्थीसँग बित्छ ।  

विद्यार्थीलाई स्वास्थ्य शिक्षा दिने, स्वास्थ्य विषय पढाउने मात्र हैन प्रदेश तथा संघीय सरकारबाट अभियानको रुपमा आउने खोप, जुकाको औषधी, फोलिक एसिड वितरण लगायतका सबै काम उनै नर्सले गर्छिन् ।

सुनसरीको इटहरी घर भएकी उनलाई हतुवागढी पहाडी ठाउँ भएकोले शुरुमा घुलमिल हुन अलि असहज भयो । विस्तारै उनी अहिले गाउँको सबैकी प्यारी भएकी छन् । अभिभावकहरु पनि समस्या परेको बेलामा कहिलेकाहीँ दौडिएर विद्यालय पुग्छन् । उनकै सुझावमा औषधी खान्छन् । राईका अनुसार, विद्यार्थीहरु गोपनीयतासँग जोडिएका विषयहरु एक्लैै नर्सलाई सुनाउँछन्, कतिपय कुराहरु उनीहरु सबैको अगाडि खुलेरै राख्छन् । ‘केयर गिभर भएपछि बालबालिकाका समस्यालाई त्यसैगरी समाधान गरेर जानु पर्छ नै’ उनले भनिन्, ‘सामान्य चोट पटक लाग्दा, टाउको दुख्दा होस् या रिङ्गटा लाग्दाका सामान्य समस्याका उपचार विद्यालयमै हुन्छ ।’ 

ghodetar_Bhojpur (6)

उनलाई अर्को जिम्मेवारी पनि छ, विद्यालयमा फोहोर ब्यवस्थापनको सहजीकरण गर्ने । अहिले बन्दै गरेको भवनको कारण र विद्यालय परिसर खुल्ला हुँदा सरसफाईको विषय चुनौतीपूर्ण लाग्छ ।

‘म विद्यालयमा आएपछि बालबालिका तथा किशोरीहरुको सामान्य  चोटपटक लाग्दा पनि क्लिनिक जानुपर्ने, हरेक समस्यामा स्वास्थ्य चौकी पुग्नु पर्ने बाध्यता हटेको छ’, विद्यालय नर्स राई भन्छिन्, ‘आफ्नो स्वास्थ्य तथा शारीरिक अवस्थाबारे विद्यार्थीले खुलेर भन्न थालेका छन् । प्रजनन् स्वास्थ्यबारे पनि छलफल गर्नसक्ने भएका छन् ।’महिनावारीबारे बोल्नै नमान्ने कक्षा ८ की कुमारी खड्का अहिले जस्तोसुकै स्वास्थ्य समस्याबारे खुलेर नर्सलाई सुनाउँछिन् । ‘हामीलाई नर्सले आफ्नो बारेमा खुलेर राख्दा धेरै समस्या समाधान हुने भनेर सिकाउनु भएको छ’ खड्काले भनिन् । 

ghodetar_Bhojpur (7)

विद्यालयमा हेल्थ मोनिटर

कतिपय विद्यालयहरुले हेल्थ मोनिटरको व्यवस्था गरेर समूह कार्यको अभ्यास पनि गर्दै आएका छन् । विराटनगरस्थित सत्यनारायण माध्यमिक विद्यालयको विद्यालय नर्सिङ कक्षमा भेटिएकी आरोही गौतम कक्षा ८ मा पढ्छिन् । उनी विद्यालयको हेल्थ मोनिटर हुन् । उनी विद्यालय नर्सिङ कक्षमा सरसफाईमा साथीहरुसँग मिलेर काम गर्दै थिइन् ।

विद्यालय नर्सिङ कक्षमा भेटिएकी आरोही गौतम

उनी बिहान ९ बजे नै विद्यालय पुग्छिन् । उनका साथीहरु पनि विद्यालय पुग्छन् । विद्यालय पुग्नेबित्तिकै उनीहरु विद्यालय नर्सिङ कक्षको सामान मिलाउने, बढार्ने, त्यसपछि पोछा लगाएर सफाइ गर्न व्यस्त हुन्छन् । उपचारका लागि कक्षमा रहेको बेड मिलाउने, कोही चोट पटक लगेर आइहाले डिटोेल र ह्याण्डिप्लास्ट लगाउन उनीहरुलाई कसैले भन्नै पर्दैन । उनीहरुलाई त्यस्तो अवस्थामा के गर्ने भनेर विद्यालय नर्स मन्दिरा घतानीले सिकाई सकेकी छन् ।  

उनीहरुलाई विद्यालय नर्स कक्षको सरसफाईसँगै आफ्नो व्यक्तिगत सरसफाईको बारेमा राम्रोसँग थाहा छ । सत्यनारायणमा पाँच जनाको समूह बनाएर हेल्थ मोनिटर सहितको व्यवस्था गरिएको हो । उनीहरुले यहाँबाट धेरै कुरा सिक्दै आएका छन् । समूह कार्य र सरसफाईको बारेमा पनि उनीहरुलाई सिकाइएको छ ।

९ देखि १० बजेसम्म बालबालिका यो कक्षमा भेटिन्छन् । ज्वरो नाप्न, रक्तचाप नाप्न, हात काट्दा वा घाउ भएको बेलामा डिटोल लगाएर ह्याण्डिप्लास्ट लगाइदिने काममा पनि यो समूहले नर्सलाई सघाइरहेको हुन्छ । 

student

नर्स घतानीले विद्यालयमा बालबालिकाको उपचारबाहेक अभियानको रुपमा आउने औषधीहरु खुवाउने गरेको बताइन् । सामान्य समस्या हुँदा प्राथमिक उपचार विद्यालय नर्सले गर्ने भएपनि अलिक जटिल खालका बिरामी भएको अवस्थामा भने एम्बुलेन्सबाट अन्यत्र पठाउने गरेको उनको भनाई छ ।एकजना बच्चालाई श्वास फेर्न कठिनाई भएको र अर्को एउटा बच्चाको खुट्टा भाँचिएको अवस्थामा उनीहरुलाई एम्बुलेन्सबाट अस्पताल पठाइएको उनले सुनाइन् । ‘सामान्य उपचार आफँैले गर्छु, उनले भनिन्, ‘कतिपय कहिलेकाहीँ जटिल खालका समस्या आउँदा अस्पताल पठाउनै पर्छ ।’ उनका अनुसार, अभिभावक तथा विद्यार्थीका लागि समयसमयमा स्वास्थ्य शिविर सञ्चालन गरिँदै आएको छ । विद्यार्थीका लागि औषधिहरू निःशुल्क वितरण गर्दै आएको उनले बताइन् ।

satyanarayen (2)

उदयपुरको बेलका नगरपालिकास्थित जनता नमुना मावि गुरुङचौरी यसै बर्षदेखि विद्यालय नर्स कार्यक्रममा जोडिएको विद्यालय हो । चालु आर्थिक वर्षमा प्रदेश सरकारले थप गरेको १५ विद्यालय मध्येको जनतामा विद्यालय नर्सको प्रभाव देखिन थालिसकेको छ । 

विद्यालयका प्रधानाध्यापक अम्बरबहादुर राईले एक हजार ३६० जना विद्यार्थी रहेको यो विद्यालयमा नर्स कार्यक्रम निकै प्रभावकारी हुँदैै गएको बताए । ‘दैनिक ७ जनाभन्दा बढी विद्यार्थी बेहोस भएर ढल्ने जस्ता समस्या थियो’, उनले भने, ‘उपचारका लागि स्वास्थ्य संस्था लैजानुपथ्र्यो, नर्स आएपछि विद्यालयमै उपचार हुन थालेको छ, असाध्यै काइदा भएको छ ।’    

एकै विद्यालयमा दुईजना नर्स

विद्यालय नर्स चलाउने अभियान सरकारले शुरु गर्दैगर्दा कतिपय विद्यालयहरुले आफ्नै स्रोत पनि विद्यालय नर्सका लागि परिचालन गर्न थालिसकेका छन् । ४ हजार २ सय विद्यार्थी भएको सुकुना माविमा बिहान ६ बजेदेखि नै विद्यालय नर्स भेटिन्छन् । ६ देखि ११ बजेसम्म एकजनाको सिफ्ट र बिहान १० देखि दिउँसो ४ बजेसम्म अर्को सिफ्ट छ ।

यो विद्यालयमा दुईजना नर्सहरुलाई विद्यार्थी हेर्न भ्याई नभ्याई हुने गरेको प्रधानाध्यापक हिक्मतबहादुर कार्कीले जानकारी दिए । विद्यालय नर्समा प्रदेश सरकारले पठाएको गीता सिग्देल छिन् भने विद्यालयले आफ्नै स्रोतबाट करुणा नेपालीलाई नर्स नियुक्त गरेको छ । 

योग, ध्यान र आयुर्वेद कक्षामा पनि यिनै विद्यालय नर्सले सहजीकरण गर्ने गरेका छन् । स्वस्थ जीवनका लागि योग, ध्यान र आयुर्वेद रुटिनमै राखेर पढाउने गरिएको छ । अरु विद्यालयहरुमा सामान्यतया एउटा मात्र बेड राख्ने गरिएको भएपनि सकुनाले विद्यालय नर्स कक्षमा ३ वटा बेड राखेको छ ।

‘दाताहरुको सहयोगमा बेड व्यवस्थापन गरिएको छ भने औषधीका लागि विद्यालयले आन्तरिक स्रोतबाट जुटाउँदै आएको छ । ‘स्वास्थ्य कार्यालयले समीक्षा मात्र गर्छ’, प्रअ बस्नेतले भने, ‘समीक्षा, मूल्याङ्कन र रिपोर्टिङको पाटो स्वास्थ्य कार्यालयमार्फत् निर्देशनालयले हेर्दै आएको छ ।’

उनका अनुसार यसले समुदायस्तरमा पनि सरसफाई, पोषणयुक्त खानेकुरा, स्वास्थ्यलगायत विषयमा चेतना जगाउने काम गरेको छ । कार्यक्रम लागू भएसँगै विद्यार्थीको स्वास्थ्य अवस्थामा सुधार भएको प्रअ बस्नेतले जानकारी दिए ।

कसरी आयो कार्यक्रम

विद्यालय नर्सिङ कार्यक्रम २०७५ मा कोशी प्रदेश सरकारले शुरु गरेको हो । यो कार्यक्रमलाई अहिले धेरै प्रदेशले अंगीकार गरेका छन् । संघीय सरकारले निर्देशिका जारी गरेर कार्यक्रमलाई देशभर पु¥याएको छ। आर्थिक बर्ष २०७५÷०७६ बाट सञ्चालनमा ल्याइएको कार्यक्रमका लागि १४ जना नर्स छनौट गरी २०७५, चैत १ चैतबाट विद्यालयहरुमा पठाइएको थियो । 

सामाजिक विकास मन्त्रालयले विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराका खुवाउनुका साथै स्वास्थ्यप्रति उत्प्रेरित गर्दै सरसफाइ र पोषण प्रवद्र्धन गर्न विद्यालयमा नर्स राख्ने कार्यक्रम कोशी प्रदेश सरकारले नमुना कार्यक्रमको रुपमा ल्याएको थियो । 

किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारको आवश्यकता महसुस गरी २०७३ मा संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याउने योजना बनाएको थियो । तर कार्यान्वयनमा जान नसकेको सन्दर्भमा कोशी प्रदेश सरकारले यसलाई अघि बढायो । अहिले यो कार्यक्रम स्वास्थ्य मन्त्रालय मातहतको निर्देशनालयले विद्यालय नर्समार्फत् किशोरकिशोरीलाई प्रजनन् स्वास्थ्य, महिनावारी, स्वास्थ्य तथा सरसफाइसम्बन्धी परामर्श दिँदै आएको छ ।satyanarayen (1)

 कार्यक्रमअन्तर्गत परिवार नियोजन, यौन तथा यौनिकता, व्यक्तिगत र वातावरणीय सरसफाई तथा फोहोरमैला व्यवस्थापनसम्बन्धी परामर्श सेवा प्रदान गरिँदै आएको छ । स्वास्थ्यसम्बन्धी ज्ञान, स्वस्थकर खानपिनसम्बन्धी परामर्श र विद्यालय स्वास्थ्य इकाइ निर्माण गरी विद्यार्थीलाई स्वास्थ्य सेवा पनि प्रदान हुँदै आएको कोशी प्रदेश जनस्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए ।

सामान्य स्वास्थ्य परीक्षण, पोषण लेखाजोखा, नियमित स्वास्थ्यबारे जानकारी गराउन, प्राथमिक उपचारको व्यवस्था, अभिभावक–बालबालिकाको स्वास्थ्य र स्वास्थ्य अवस्थाबारे जानकारी गराउने लगायतका काम पनि विद्यालयका नर्सले गर्ने गरेका छन् । 

कुन जिल्लामा कति विद्यालय

कोशी प्रदेश सरकारले विद्यालय नर्सिङ कार्यक्रम सेवालाई निरन्तरता दिँदै आएको छ । २०७५ सालमा १४ वटा विद्यालयबाट शुरु भएको यो कार्यक्रम कोशी प्रदेशका १६० विद्यालयमा पुगिसकेको छ । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रमबमोजिम प्रदेशका सबै स्थानीय तहलाई समेटेर १६० वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालनमा छ ।

विद्यालय नर्स कार्यक्रम कोशी प्रदेशका १४ जिल्लामै पुगिसकेको छ ।  मोरङका १९ विद्यालय, सुनसरी १५, झापा २७, इलाम १०, पाँचथर ८, ताप्लेजुङ १५, उदयपुर ११, खोटाङ १०, ओखलढुगा १२ वटा विद्यालयमा कार्यक्रम सञ्चालनमा छ ।  त्यस्तै, सोलुखुम्बु १०, धनकुटा ७, तेह्रथुम ९, संखुवासभा १२ र भोजपुर जिल्लामा ९ वटा विद्यालयमा नर्स कार्यक्रम कार्यक्रम सञ्चालनमा छ । हरेक वर्ष विद्यालयहरुको संख्या बढाउँदै लगिएको छ । गत आर्थिक वर्ष २०७९÷०८० सम्ममा १४५ विद्यालयमा यो कार्यक्रम सञ्चालन हुँदै आएकोमा चालु आर्थिक वर्षमा १५ वटा थप गरी १६० वटा विद्यालयमा नर्स कार्यक्रम सञ्चालनमा रहेको स्वास्थ्य निर्देशक बस्नेतले बताए ।

चालु आर्थिक वर्षमा मात्र झापा ५, ताप्लेजुङ ३, उदयपुर १, ओखलढुगा २, सोलुखुम्बु १, तेह्रथुम २, संखुवासभामा १ वटा विद्यालयमा थप गरिएको छ । विद्यालय तहमा स्वास्थ्य सेवा पहुँच पु¥याई बालबालिका तथा किशोर किशोरीको समस्या, स्वास्थ्य, सरसफाई, मानसिक स्वास्थ्य, पोषण प्रवद्र्धन, यौन तथा प्रजनन् स्वास्थ्य, सामुदायिक स्वास्थ्य अवस्थामा सुधार गरी विद्यार्थी तथा समुदायको जीवनशैलीमा सकारात्मक परिवर्तनका लागि उत्प्रेरित गर्न कार्यक्रम सञ्चालनमा ल्याइएको पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । 

त्योबेला जुन उद्देश्यले कार्यक्रम सञ्चालन भएको थियो, त्यहीअनुरुप विद्यालयहरुमा धेरै प्रभावकारी काम पनि भएकोमा उनले खुसी यक्त गरे । ‘सत्प्रतिशत विद्यालयमा कार्यक्रम पु¥याउने लक्ष्य थियो, भर्खर १६० विद्यालयमा पुगेका छन्, पूर्वमन्त्री घिमिरेले भने, ‘विद्यालयहरुमा जुन रुपमा परिणाम देखिएका छन्, यसबाट विद्यालय, समुदाय, बालबालिकाले लाभ पाइरहेकोमा त्यसअनुसार सरकारले प्राथमिकता दिनसक्नु पर्छ ।’

प्रक्रियामा समस्या

कोशी प्रदेश सरकारले शुरु गरेको विद्यालय नर्स कार्यक्रम सञ्चालन भएका विद्यालयहरुमा यसको प्रभावकारी कार्यान्वयन भएको छ । कार्यविधिले व्यवस्था गरे अनुसार यसको कार्यान्वयन पछिको समीक्षाबारे भने खासै काम भएको देखिँदैन । 

जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाभित्र विद्यालय नर्स कार्यक्रम लागू भएका विद्यालयका नर्स, प्रधानाध्यापक, सम्बन्धित स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य निर्देशनालयमा कार्यरत विद्यालय नर्सिङ कार्यक्रम संयोजक समेत बसेर समीक्षा गर्ने भनिएको छ । 

कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेश स्वास्थ्य निर्देशनालयले सबै जिल्लामा समीक्षा गर्ने, त्यसको निचोडको आधारमा मन्त्रालयका प्रतिनिधि, स्वास्थ्य कार्यालयको प्रमुख, फोकल पर्सन सहित विद्यालय नर्स सहभागी गराउने भनिएको छ । यसले विद्यालय नर्सिङ कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्नुका साथै आगामी योजना बनाउन सजिलो बनाउने स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

कार्यक्रम शुरु भएको ४ वर्षसम्म प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहत रहेर सञ्चालन हुँदै आएकोमा अहिले स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले हेर्दै आएको छ । चालु आर्थिक वर्षमा विद्यालय नर्स कार्यक्रमका लागि ८ करोड ३९ लाख रकम विनियोजन गरिएको छ ।

विद्यालय नर्स कार्यक्रमको प्रतीकात्मक र प्रवद्र्धनात्मक काममा बढी भूमिका देखिएको छ । प्रदेशलाई पूर्ण खोप सुनिश्चितताका लागि खोप अभियान, दादुरा, रुवेला विरुद्धको खोप, जुकाको औषधी वितरण, आइरन फोलिक एसिड वितरण, किशोरीहरुलाई एचपीभी खोप, आँखा शिविर, पोषणसम्बन्धी तौल र उचाईको नापहरु पनि विद्यालय नर्सहरुबाट हुँदै आएको छ ।

कोभिडको उच्च संक्रमणको बेलामा विद्यालय नर्सको भूमिकालाई अभिभावकहरुले उच्च मूल्याङ्कन गरेका थिए । कोभिड महामारीबारे सतर्कता र खोपको प्रचारप्रसार गर्ने काम निनै नर्सहरुले गरेकोले पनि यसको महत्व बढेर गएको छ । स्यानिटरी प्याड बितरण, सचेतना शिक्षा, स्वास्थ्य प्रदर्शनी, हात धुने विधि, महिनावारी सरसफाई सचेतना, स्वास्थ्यसम्बन्धी विभिन्न शिक्षाहरु विद्यालय नर्सले प्रदान गर्दै आएका छन् । 

जसरी कोशी प्रदेश सरकारले शुरु गरेको यो कार्यक्रम विस्तारै स्थानीय तहलाई हस्तान्तरण गर्ने भनिएको थियो त्योअनुसार अहिलेसम्म काम हुन भने सकेको छैन । संघले आफ्नै निर्देशिका बनाएर शुरु गरेको छ भने, प्रदेशहरुले आफ्नै कार्यविधिबाट काम गरेको र पालिकाले पनि विद्यालय नर्स कार्यक्रमलाई आफ्नै अनुकूल व्यवस्थापन र परिचालन गर्दै आएका छन् । यसलाई एकरुपता दिन सकिए अझ बढी प्रभावकारी हुन सक्ने विश्वास गर्न सकिन्छ ।