इटहरी । व्यापारिक सहरको छवि बनाइरहेको इटहरी उपमहानगरपालिकाको ग्रामीण क्षेत्रमा पर्छ वडा नम्बर १६ । तत्कालीन पकली गा.वि.सका ३ र एकम्बा गा.विसका ३ वटा वडा मिलेर हालको वडा नम्बर १६ बनेको छ । 
पूर्व पश्चिम हाईवेले छोएका केही क्षेत्र सहरको रूपमा विकास भएको छ भने अधिकांश क्षेत्र ग्रामीण क्षेत्रको रूपमा रहेका छन् । 
ग्रामीण क्षेत्र भएकाले सडक पूर्वाधार र कृषिका लागि सिचाई यहाँका स्थानीयको पहिलो माग थियो, छ र अझै पनि यही माग कायमै छ । 
स्थानियबासीको यही माग पुरा गराउन आफू दिनरात काममा खटिरहेको वडा न. १६का अध्यक्ष तेज नारायण चौधरीले बताए । 
वडाका सबै ठाउँमा ग्राभेल तथा कालोपत्रे सडक पुर्‍याउनु र कृषकका लागि सिचाई उपलब्ध गराउनु आफ्नो पहिलो प्राथमिकता भएको अध्यक्ष तेजनारायण चौधरीले सुनाए । 
हिलाम्मे र धुलाम्मे सडकलाई ग्राभेल अनि कालोपत्रे गर्ने उनले जनतासँग वाचा गरेका थिए । कृषकलाई बाली लगाउन सिचाई पुर्‍याउने उनले गरेको अर्को वाचा हो । यी वाचाहरू पुरा गराउन अध्यक्ष तेजनारायण योजनाबद्ध रूपमा काम गर्दै छन् । 

IMG_5881

सडक पूर्वाधार 

भौगोलिक हिसाबले पनि यस क्षेत्रमा सडक पूर्वाधार राम्रो छैन । गाउँ गाउँमा बाटो पुर्‍याउनुपर्नेछ । भएका बाटोहरू पनि हिलाम्मे र धुलाम्मे हुन्छन् । यी सडकहरूलाई ड्रेन, ग्राभेल र कालोपत्रे गर्दै सुविधा सम्पन्न बनाउनुपर्ने छ । 
सडक पूर्वाधार नै यहाँका जनताको प्रमुख माग हो, अध्यक्ष तेजनारायण चौधरीले बताए । जनताको माग पुरा गराउन उनले वडा, नगर र बहुबर्षिय योजनामा समेटेर सडक बनाउने काम गर्दै आएको जानकारी दिए । 
उनी निर्वाचित भएर आए पछि हाल सम्म साढे ३ किलोमिटर सडक कालोपत्रे भएको उनले बताए । यस्तै ३ किलोमिटर जति बाटो ग्राभेल भएको छ । पछिल्लो समय सजिलो र राम्रो देखिने भएकाले माग बढेको ब्लक टाली लगाउने काम पनि यहाँ भएका छन् । जनताको माग अनुसार २ किलोमिटर सडकमा ब्लक टाली लगाएर सडकलाई हिलाम्मे र धुलाम्मे मुक्त बनाइएको छ ।  
अझै पनि धेरै ठाउँमा सडकलाई स्तर उन्नति गर्दै कालोपत्रे गर्नुपर्ने उनले बताए । यसका लागि चालु वर्ष र आगामी वर्षका लागि पाइप लाइनमा योजनालाई राखिएको उनले सुनाए । 
सडक पुगेपछि मात्रै अन्य पूर्वाधार पुग्न सक्ने भएकाले वडाका सबै गाउँ ठाउँमा सडक सञ्जाल पुर्‍याउने लक्ष्य अनुसार काम गरिरहेको अध्यक्ष चौधरीले बताए । 

कृषकलाई सिचाई उपलब्ध  

यस वडाका अधिकांश जनता खेती गर्छन् । कृषकहरूले मौसमी र बेमौसमी तरकारी बाली लगाउँछन् । खेती तथा तरकारी बालीका लागि नियमित रूपमा सिचाई आवश्यक हुन्छ । नदी तथा नहरले भेट्ने ठाउँमा त सिचाइको सुविधा हुन्छ । तर उच्च ठाउँमा सिचाइको सुविधा छैन । 
कृषकका हरेक दुःख कष्टसँगै भोगेका तेजनारायणलाई सिचाई पुर्‍याउनु ठुलो चुनौती छ । सिचाइका लागि ठुलो लगानीका योजना आवश्यक थियो । तर वडा र नगरसँग पर्याप्त स्रोत भएन । त्यस पछि उनले माथिल्लो सरकारको सहयोग मागे । प्रदेश सरकारलाई विश्वास दिलाएर उनले करिब ७० लाख बजेटका भूमिगत सिचाई योजना ल्याउन सफल भए । 
नियमित खेती लगाउने र बेमौसमी तरकारी बाली लगाउने कृषकका लागि भूमिगत सिचाई योजना सञ्चालनमा आयो । 
डिप बोरिङ मार्फत अन्डरग्राउन्ड पाइप विच्छ्याएर उच्च जमिनमा पनि सिचाई पुर्‍याउन अध्यक्ष चौधरी सफल भए । 
यस योजना अनुसार करिब ६० देखी ७० बिगाहा जमिनमा सिचाई सुविधा पुगेको छ । 
नियमित रूपमा पानी उपलब्ध भएपछि यहाँका किसानले सिजन अनुसार ३ बाली लगाउने गरेको छन् । 
धान, गहुँ, मकै,तोरी लगायतका अन्नबाली ३ बाली लगाउँछन् । तर अहिले कृषकहरूले मौसमी र बेमौसमी तरकारी बाली पनि लगाउँछन् । पानी नियमित भएपछि बाली लगाउन सजिलो भएको स्थानीय कृषक रमेश चौधरीले जानकारी दिए । नियमित रूपमा तरकारी खेती गर्दै आएका उनी जस्ता अन्य २५ देखी ३० जना कृषकले बेमौसमी तरकारी खेती लगाउने गरेका छन् । 
यहाँ सिजन अनुसारका फर्सी, भिण्डी,बैगुन, काँक्रा, बोडी, घिरौँला, करेला लगायतका तरकारी खेती हुन्छ । यहाँ उत्पादन भएका तरकारीहरू इटहरीका स्थानीय बजार देखी विराटनगरका मुख्य तथा सहायक बजार सम्म पुग्ने गरेको छ । 

वडा सदस्य हुँदै वडा अध्यक्ष  

Tej narayan chaudhari wada 16

अघिल्लो कार्यकालमा वडा सदस्य रहेका तेजनारायण चौधरी यस पटक भने वडा अध्यक्षमा निर्वाचित भएका हुन । तत्कालीन वडा अध्यक्षलाई सफल बनाउन उनले पूर्ण रूपमा सहयोग गरे । वडा सदस्य हुँदा गाउँ गाउँमा पुगेर जनताको काम गरेका तेजनारायणले दोस्रो पटकको निर्वाचनमा अध्यक्ष उठ्ने अवसर पाए । 
अघिल्लो कार्यकालका आफ्नै वडा अध्यक्षलाई तेजनारायणले पराजित गर्दै वडा अध्यक्षमा निर्वाचित भए । 

इटहरीका थारु अगुवा नेताको छवि बनाएका वडा अध्यक्ष तेजनारायण चौधरीसँग उनले गरेका कामको विषयमा गरिएको छोटो कुराकानी :

 

वडा नम्बर १६ कस्तो वडा हो ? 

१६ नम्बर वडा साबिकको पकली गा.विसको ३ वडा र एकम्बा गाविसका ३ वटा वडा गरी ६ वटा वडा मिलेर बनेको वडा हो । भौगोलिक हिसाबले केही सहरी क्षेत्रमा पर्छ भने धेरै जसो ग्रामीण क्षेत्र पर्छ । 
साबिक गाविस भएको कारणले गर्दा र ग्रामीण क्षेत्र भएकोले पूर्वाधार हिसाबले कमजोर छ । तर अहिले उपमहानगरपालिका भएपछि विकास हुन थालेको छ । तर अझै पनि पूर्वाधार विकास देखी मानवीय विकास सम्मका कामहरू गर्नुपर्ने छ । 

यस वडाको प्राथमिकता के के हुन ? 

हुन त म अघिल्लो कार्यकालमा पनि वडा सदस्य भएर काम गरेको हो । र अहिले वडा अध्यक्षको रूपमा कार्यरत छु । मैले अघि पनि भने यो वडा विगतमा गाविसको वडा भएकोले पूर्वाधारको हिसाबले कमजोर थियो । यहाँका अधिकांश मानिसहरूले हामीसँग त्यो बेला पनि र अहिले पनि यहाँका बाटोघाटो, सिचाइको नै माग गर्नुहुन्छ । सडक कालोपत्रे देखी लिएर बाली लगाउन सिचाइको व्यवस्था गरिदिन माग गर्नुहुन्छ । यस हिसाबले पनि यहाँको पहिलो प्राथमिकता सडक पूर्वाधार र कृषकका लागि सिचाइको प्रबन्ध नै हो । यस पछि शिक्षा, स्वास्थ्य लगायत अन्य पूर्वाधारहरू छन् ।  

अहिले सम्म आउँदा भएका मध्ये राम्रा काम के के हुन ? 

राम्रा कामको सन्दर्भमा कुरा गर्दा हामीले धेरै राम्रा काम गरेका छौँ । पूर्वाधारको क्षेत्रमा धेरै वटा बाटोहरू हामीले बनाएका छौँ । वडा, नगर र बहुबर्षिय योजना अन्तर्गतका बाटोहरू निर्माण सम्पन्न भएका छन् । धेरै बाटोहरू कालोपत्रे भएका छन् । हिजो हिँड्नै नसक्ने बाटो अहिले सररर गाडी गुड्ने कालोपत्रे भएको छ । 
सयौँ वर्ष देखी नबनेको टिकुलिया टोलको बाटो परापूर्व काल देखी चल्दै आएको तर अत्यन्तै जीर्ण थियो । त्यो बाटो बनाउने भनेर मैले जनतासँग प्रतिबद्धता पनि गरेको थिएँ । सो बाटो अहिले कालोपत्रे भएको छ । मैले मेरो वाचा पुरा गरेको छु । 
अन्य विकास निर्माण र सेवा प्रवाहको विषयमा वडाले गर्ने वडाको पहलमा र नसक्ने कामहरू नगर र प्रदेश सरकारसँग समन्वय गरेर सम्पन्न भएका छन् । 

ग्रामीण क्षेत्र भन्नुभयो, सिचाइका लागि के के काम भएका छन् ? 

यहाँका किसानका लागि हामीले धेरै ठाउँमा डिप बोरिङ गरेर उच्च ठाउँमा सिचाई पुर्‍याउने काम गरेका छौँ । हामीले प्रदेश सरकारको सहयोग तथा समन्वयमा करिब ७० लाख बजेटको वैज्ञानिक सिचाई योजना सम्पन्न गरेका छौँ । 
उच्च भूभागमा अन्डरग्राउन्ड पाइप विच्छ्याएर सिचाई गर्न मिल्ने बनाइएको छ । यसबाट करिब ६० देखी ७० बिगाहा जग्गामा सिचाइको सुविधा पुगेको छ । यसबाट धेरै कृषकहरू लाभान्वित भएका छन् । यसबाट खेती लगाउन सहज मात्रै भएको छैन । उत्पादन पनि बढेको छ । 
हाम्रा कृषकहरूले उत्पादन गरेका तरकारीहरू इटहरीका बजार देखी लिएर विराटनगरको बजार सम्म पुग्ने गरेको छ । यसबाट धेरै कृषकहरूलाई फाइदा पुगेको छ ।  आगामी दिनमा पनि सिचाई नपुगेका क्षेत्रमा सिचाई पुर्‍याउने लक्ष्य छ । 

शिक्षा र खेलकुदको क्षेत्रमा के के काम भएका छन् ? 

हामीसँग २ सामुदायिक विद्यालय छन् भने एक बाल विकास केन्द्र छ । विद्यालयहरूको भौतिक पूर्वाधार अत्यन्तै जीर्ण छ । हामी आएपछि सरस्वती जब्दी मा.बिमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत एउटा भवन बनाउन सक्यौँ । त्यसमा अहिले बजेट हालेर वैज्ञानिक हिसाबले पढ्न पाउन भनेर स्मार्ट बोर्ड लगाउने काम भएको छ । अहिले त्यो चालु भइसकेको छ । कतिपय स्कुलमा शिक्षकहरूको अभाव थियो । त्यसमा वडाबाटै बजेट हालेर भएर पनि शिक्षक अभाव भएको विद्यालयमा शिक्षक व्यवस्था गरेका छौँ । 
 स्कुलहरूमा चाहिएको विभिन्न शैक्षिक सामाग्रीहरू खरिद गरी उपलब्ध गराएका छौँ । यसोसँगै नियमित रूपमा अनुगमन र निरीक्षण गर्ने व्यवस्था मिलाएका छौँ । विद्यालयका विद्यार्थीहरूसँग अन्तर्क्रिया गरी शिक्षकहरूले पढाउने तरिका,अवस्थाका बारेमा जानकारी लिने काम गरेका छौँ । यस्तै अभिभावकसँग पनि अन्तर्क्रिया गर्दै उहाँहरूको कुरा सुन्ने र वडाको शैक्षिक गुणस्तर सुधारका लागि गर्नुपर्ने कामको बारेमा सचेतना जगाउने काम गरेका छौँ । 
यता, खेलकुदको क्षेत्रमा भने पर्याप्त बजेट नहुँदा सोचे अनुसार काम गर्न सकेको छैन । खेल क्षेत्रमा अन्य भन्दा कम बजेट भएको महसुस भएको छ । आगामी दिनमा खेल क्षेत्रमा बजेट वृद्धि गर्दै राम्रा काम गर्ने योजना बनाएका छौँ ।