सुनसरी । जिल्ला कारागार खाँदबारीभित्र दुई कैदीको कुटपिटपछि भएको हत्या प्रकरणमा अदालतले सात प्रहरीसहित १५ जनालाई जन्मकैदको सजाय सुनाएको छ। 


जिल्ला अदालत संखुवासभाले घटनामा संलग्न देखिएका सुरक्षाकर्मी र कैदीबन्दीहरूलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।  कारागारभित्र भएको अमानवीय कुटपिटका कारण दुई कैदीको ज्यान गएको पुष्टि भएपछि अदालतले सजाय सुनाएको जिल्ला अदालतका स्रेस्तेदार उज्वल न्यौपानेले जानकारी दिए । 


२०८० साउन २४ मा मादी नगरपालिका–५ संखुवासभाका २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामी कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको आरोपमा नियन्त्रणमा परेका थिए।


अनुसन्धानका क्रममा उनीहरूलाई सुरक्षाकर्मीले प्रारम्भिक रूपमा कुटपिट गरेको र त्यसपछि केही कैदीबन्दीको समूहले समेत सामूहिक रूपमा आक्रमण गर्दा गम्भीर घाइते बनेका दुवै जनाको मृत्यु भएको थियो।