विराटनगर । कोशी प्रदेशको बजेट किताबमा एकलौटी योजनाहरू हालेको भन्दै नेपाली काङ्ग्रेस र राप्रपाले कोशी प्रदेश सभाको आजको बैठक बहिस्कार गरेका छन् ।
आर्थिक वर्ष २०८१/८२ को बजेटमा सरकारमा रहेका मन्त्रीहरूले एकलौटी तरिकाले योजनाहरू हालेको भन्दै नेपाली काङ्ग्रेसले आजको सभा बहिस्कार गरेका हुन् । कोशी प्रदेश सभको आजको बैठकमा आर्थिक विधेयकका बियामा छलफल गर्ने कार्यसूची रहेको थियो । 
बैठक सुरु सँगै नेपाली काङ्ग्रेस र राप्रपाका प्रदेश सभा सदस्यहरूले उठेर विरोध गरेका थिए । प्रदेश सभाको बैठकको कारबाही सुरु भएसँगै नेपाली काङ्ग्रेस र राप्रपाका प्रदेश सभा सदस्यहरूले विरोध गरेपछि सभामुख अम्बर बहादुर विष्टले नेपाली काङ्ग्रेस संसदीय दल कोशी प्रदेशका प्रमुख सचेतक गोपाल तामाङलाई बोल्न दिएका थिए । 
तामाङले नीति तथा कार्यक्रम बनाउँदा समेत आफूहरूसँग छलफल नगरिएको बताए । उनले नाराहरू राम्रा भए पनि बजेट भने एकलौटी ढङ्गले बजेट ल्याएको बताए ।
उनले रातो किताबमा भएको  विनियोजनलाई देख्दा मन कुँडिएको बताए । रातो किताब हेर्दा प्रदेश सभा सदस्य समेत भन्न नसक्ने अवस्था आएको बताए । 
उनले भने, वडाको अध्यक्षले सदस्यले जस्तो आफ्नो पालिकामा योजनामा लगेको बताए । उनले भने ८२ वटा योजनाहरू आफ्ना पालिकाहरूमा लगेको बताए ।
उनले कार्यकारी तहमा बसेकाहरूले आफ्नो वडामा मात्रै बजेट लगेकाले लाज लागेर आएको बताए । उनले जनताले चुनेर पठाएको तर  बजेट हेर्दा  गाउँ फर्किएर जान नसक्ने अवस्था आएको बताए ।उनले विनियोजन विधेयक माथिको छलफल नेपाली काङ्ग्रेसले बहिस्कार गर्ने बताए ।  

राप्रपाका प्रदेश सभा सदस्य सविना बजगाँइले रातो किताबमा ४ भाइको मात्रै योजना हालेको आरोप लगाइन् । उनले मन्त्रीहरूले बजेट आफ्नो पैतृक सम्पत्ति बाँडफाँड गरेको जसरी योजना हालेको भन्दै सभा बहिस्कार गर्ने बताइन् ।