विराटनगर । महिला पत्रकारहरूलाई पत्रकारिता पेसामा टिकाई राख्न सरकारले विशेष पहल गर्नुपर्ने एक कार्यक्रममा सहभागीहरूले बताएका छन् ।  
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको  सहयोगमा सञ्चारीका  समूह कोशी प्रदेशले आयोजना गरेको पत्रकार महिलाहरूको क्षमता विकास अभिमुखीकरण कार्यक्रमका सहभागीले महिला पत्रकारको रोजगारीको ग्यारेन्टी गर्नु पर्ने बताए । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले सञ्चार ऐन छिट्टै ल्याई पत्रकारहरूको हक, हित र सूचनाको अधिकार स्थापित गरेर जाने प्रतिबद्धता जनाए । अहिले पत्रकारिता अप्ठ्यारो अवस्थामा रहेको बताउँदै अधिकारीले त्यसको लागि सबै क्षेत्र लाग्नु पर्ने बताए  ।
पत्रकार महासङ्घ कोशी प्रदेशका उपाध्यक्ष हिमा चेम्जोङ, महासचिव विवेक गौतम लगायतका पत्रकारले सामाजिक, सांस्कृतिक परिवेशका कारण क्षमतावान् महिलाहरू पनि विभिन्न कारणले पेसाबाट पलायन भइरहेको बताए । 
यस्तो अवस्थामा सरकारले पत्रकारिता पेसामा टिकाई राख्न निरन्तरता सहयोग गर्नु पर्ने बताए ।   सञ्चारीका समूह कोशी प्रदेशकी अध्यक्ष इन्दिरा भट्टराईको अध्यक्षतामा सम्पन्न भएको  कार्यक्रम सञ्चारीका समूहकी केन्द्रीय अध्यक्ष विमला तुम्खेवाले प्रविधिको उच्चतम प्रयोगबाट गरिने पत्रकारिताले पत्रकार महिलालाई गुणात्मक, सचेत र व्यावसायिक रूपमा अगाडि बढाउन सघाउने बताइन् । कार्यक्रममा प्रदेशमा कार्यरत महिला पत्रकारको समग्र अवस्थाको बारेमा विभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो ।

महिला पत्रकारहरूलाई तालिमको माध्यमबाट क्षमता अभिवृद्धि गराई समाचार लेखनमा दक्ष बनाउने अभिप्रायले तालिमको आयोजना गरिएको हो ।