विराटनगर । ग्रामथान गाउँपालिकामा रहेको सरस्वती नमुना माध्यमिक विद्यालयले फिडर विद्यालयहरूलाई प्रशिक्षण दिएको छ ।  विद्यालयले प्रधानाध्यापकहरूको क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरेको हो । ग्रामथान गाउँपालिकाको एक मात्र नमुना विद्यालय भएकोले सरस्वती माबिको नेतृत्वमा फिडर विद्यालयका प्रधानाध्यापकहरूको क्षमता अभिबृद्धिकोलागि शिक्षण सिकाई वृद्धि गर्ने उद्देश्यको प्रशिक्षण दिइएको विद्यालयका प्रधानाध्यापक अशोक लुइँटेले जानकारी दिए । 
4227d0cf-b0c9-4887-920e-e7c782e672a2
 एक दिने प्रशिक्षणमा प्रधानाध्यापकको भूमिका, विद्यालयमा गर्नु पर्ने व्यवहार र बालबालिकालाई कसरी पठन पाठन गराउने लगायतको विषयमा अभिमुखीकरण गरिएको छ ।  ‘एउटा प्रधानाध्यापकले विद्यालय सुधार गर्नकोलागि गर्नु पर्ने कामहरू, त्यस कोलागि खेल्नु पर्ने भूमिकाको बारेमा प्रशिक्षण दिइएको छ, लुइँटेलले भने, नमुना विद्यालयको हिसाबमा सरस्वती माविले  तालिमको नेतृत्व गरेका हो ।’  
प्रशिक्षणमा ग्रामथान गाउँपालिका भित्रका २८ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक सहभागी थिए ।  प्रशिक्षणमा शिक्षा विकास तथा समन्वय इकाईका  टङ्कप्रसाद गौतम, आदर्श माध्यमिक विद्यालय विराटनगरका प्र अ सन्तोष पोखरेल, बेलवारी नगरपालिकाका पूर्व शिक्षा शाखा प्रमुख भूपेन्द्र कोइराला  तथा ग्रामथान गाउँपालिकाका शिक्षा अधिकृत भिमप्रसाद न्यौपानेले प्रशिक्षणको सहजीकरण गरेका थिए । 
48787bb9-48dd-4929-9461-cd01d3c447f3

अहिलेको विद्यालय अवस्थाको बारेमा आत्म समिक्षा गर्दै आगामी दिनमा विद्यालयलाई कसरी राम्रो बनाउने भन्ने बारेमा प्रशिक्षण केन्द्रित रहेको थियो ।  नमुना विद्यालय सञ्चालन निर्देशिकाले नमुना विद्यालयले नजिकै रहेका फिडर विद्यालयहरूको क्षमता विकास गर्दै  शिक्षाको गुणस्तर सुधार गर्नु पर्ने भन्ने व्यवस्था भए बमोजिम हरेक वर्ष सरस्वती माविले यस्तै प्रशिक्षण गर्दै आएको छ।