सुनसरी । कोशी प्रदेश सरकारविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आज पनि सुनवाई हुदैछ । यसअघि हिजो सुनवाई नसकिएपछी रिटलाई हेर्दाहेर्दैमा राखिएको थियो ।
जेठ ३१ गते सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूणर् इजलासमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दामा राखेर आइतबार सुनुवाइ भएको थियो । बहस नसकिएपछि पूणर् इजलासले हेर्दाहेर्दैमा राखेको हो ।
आइतबारको बहसमा निवेदक केदार कार्कीको तर्फबाट एक जनाले बहस गरेका थिए । प्रदेश प्र्रमुख परशुराम खापुङको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयबाट चार जनाले बहस गरे ।
प्रदेश सभामुख अम्बरबहादुर विष्टको तर्फबाट दुई जनाले बहस गरेका थिए । वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट वरिष्ठ अधिवक्ता रामनारायण बिडारी र कृष्णभक्त पोखरेलले बहस गरेका थिए ।
रिटमा प्रतिवादी बनाइएका तीन जना सांसदको पक्षको बहस आज हुनेछ । सर्वोच्च अदालत स्रोतका अनुसार आजनै मुद्दाको किनारा लगाउने तयारी छ ।
कोशीका प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार २७ असोज २०८० मा मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीलाई २६ वैशाखमा पदमुक्त गर्दै सोही उपधारा अनुसार २७ वैशाख २०८१ मा एमाले नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
नयाँ सरकार गठनका विरुद्ध २७ वैशाखमा नै केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्त भएका कारण आफूलाई पदमुक्त गर्न नमिल्ने भन्दै केदार कार्कीले प्रदेश प्रमुखले गरेको नयाँ सरकार गठनको आह्वान बदर, प्रदेशसभाले पास गरेको संकल्प प्रस्ताव बदर र हिक्मतकुमार कार्कीको नियुक्ति बदर गरी आफ्नो निरन्तरताको माग गरेका छन् ।