विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले एक हजार ५ सय ४८ किलो गाँजा बरामद गरेको छ। शुक्रवार दिउँसो मोरङको धनपालथान गाउँपालिका वडा नं. ७ का राजकुमार सिंहको खेतमा रहेको गोठमा लुकाई राखेको गाँजा प्रहरीले बरामद गरेको हो । लागू औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरीक्षक नवराज कार्की समेतको टोलीले गोठमा लुकाई राखेको ४९ बोरा गाँजा फेला पारेको थियो ।
गोठ भित्र लुकाई छिपाई राखेको अवस्थामा ४९ बोरा अर्थात् एक हजार ५४८ किलो ग्राम गाँजा फेला परेको एसपी कार्कीले बताए । गाँजा बरामद सँगै गोठ धनी सिंहलाई समेतलाई पक्राउ गरिएको कार्कीले बताए । पक्राउ परेका सिंहलाई शुक्रवार नै मोरङ जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप भई इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।