सुनसरी । कोसी प्रदेशले बनाएका कानुनहरूले निर्माणको चरण नै पुरा नगरेको पाइएको छ । कोसी प्रदेशले बनाएका ऐनको अध्ययन र समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उक्त तथ्य सार्वजनिक भएको हो । २०८० साल मङ्सिर सम्म कोसी प्रदेशले बनाएका ६० वटा ऐन र २४ वटा नियमावलीको अध्ययन र समीक्षा गर्न प्रदेश सरकारले पूर्वाञ्चल विश्वविद्यालय कानुन संकायलाई जिम्मा दिएको थियो । प्रदेशले बनाएका ६० वटा ऐन र २४ वटा नियमावली अध्ययन र समीक्षाले मात्र अध्ययन र समीक्षाले पूर्णता नपाउने भएकाले प्रदेशले बनाएका निर्देशिका, मापदण्ड, कार्यविधि र कानुनको आवश्यकताको समेत अध्ययन एवम् समीक्षा गरिएको अध्ययन तथा समीक्षा टोली संयोजक डा. रुद्र शर्माले जानकारी दिनुभयो ।
कोसी प्रदेशले बनाएका ऐन, नियमावली, निर्देशिका, मापदण्ड र कार्यविधिको सान्दर्भिकता र कानुनको अभाव, बनाएका कानुनको दोहोरपनको अवस्था, कानुनको वैधानिकता, कानुनको सामरिकता, कानुनको आवश्यकता, कुन कुन कानुन बनाउन बाँकी छ भन्ने विषयमा अध्ययन र समीक्षा गरिएको डा. शर्माले बताउनु भयो । ऐन बनाउने क्रममा कानुनको सर्वमान्य सिद्धान्त प्रयोग भए नभएको समेत अध्ययन भएको थियो । प्रायः सबै कानुन निर्माणको क्रममा पार गर्नुपर्ने चरण नै पुरा नगरी कानुन निर्माण भएको अध्ययनको क्रममा पाइएको हो ।
अध्ययन तथा समीक्षा समितिले न्याय प्रशासन तथा सुशासन सम्बन्धी कानुन, सार्वजनिक प्रशासन सम्बन्धी कानुन, मौलिक हक तथा मानव अधिकार सम्बन्धी कानुन, अन्तर तह समन्वय र सहकार्य सम्बन्धी कानुन र वित्तीय संघीयता सम्बन्धी कानुन तत्काल बनाउन सुझाव दिएको छ । त्यसै गरी, कृषि, कृषि व्यवसाय र पशु व्यवसाय सम्बन्धी कानुनहरू, फोहोर मैला व्यवस्थापन तथा सहरीकरण सम्बन्धी कानुनहरू, सडक, सडक सुरक्षा तथा सार्वजनिक यातायात सम्बन्धी कानुनहरू, लगानी तथा लगानी प्रवर्द्धन सम्बन्धी कानुनहरू, प्रदेशमा उत्पादित उत्पादनहरूको संरक्षण तथा बजार प्रवर्द्धन सम्बन्धी कानुनहरू, प्रदेशको लगानी तथा उत्पादनलाई विश्व बजारमा संरक्षण तथा सुरक्षित गर्ने कानुन, प्रदेश शिक्षा सम्बन्धी कानुन, भूमि सम्बन्धी कानुन, निजामती तथा सरकारी सेवा सम्बन्धी कानुन, सरकारी संस्थाका पदाधिकारीहरूको पारिश्रमिक, सेवा, सुविधा सम्बन्धी कानुन, आर्थिक कार्यविधि, विनियोजन तथा आर्थिक प्रशासन सम्बन्धी कानुनहरू, राजश्व प्रशासन तथा कर सम्बन्धी कानुनहरू, लोक कल्याण तथा सामाजिक सुरक्षा सम्बन्धी कानुन निर्माण गर्न सुझाव दिएको छ ।
कोसी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले छ महिना भन्दा बढी समय लगाएर गरिएको यो अध्ययन र समीक्षाले प्रदेशलाई अघि बढाउन कोशे ढुङ्गा साबित हुने बताउनु भयो । प्रदेशको पहिलो आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कार्यभार सम्हाल्ने क्रममा आफ्नो कार्यकक्षमा बत्ती पनि नभएको स्मरण गर्दै मुख्यमन्त्री कार्कीले पर्याप्त जनशक्ति र अनुभवको अभावमा कमी कमजोरी भएको स्वीकार गर्नुभयो । प्रदेशले ऐन, नियम बनाउँदा केही कमीकमजोरी भएको स्विकार्नु भएको छ । प्रदेश सरकारले केही काम गर्न खोज्यो भने प्रदेश समन्वय परिषदले रोक्ने भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले चाहे जसरी काम गर्नै नपाएको बताउनु भयो । दण्ड र सजाय नभएका कानुनको विषयमा कानुन व्यवसायीलाई थाहा नहुने मुख्यमन्त्री कार्कीको भनाइ छ । वित्तको बाँडफाँड सम्बन्धी ऐन संविधान र कानुन विपरीत भएको भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश संरचना प्रतिको पूर्वाग्रहका कारण पनि नकारात्मक टिप्पणी भइरहेको बताउनु भयो ।