सुनसरी । नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिले सरकार परिवर्तनको विषयलाई सामान्य रूपमा लिनुपर्ने बताएका छन् ।
काँग्रेस सुनसरीले सदरमुकाम इनरुवामा आइतबार आयोजना गरेको गिरिजा प्रसाद कोइरालाको १०१ औ जन्मोत्सवको अवसरमा कोइरालाको व्यक्तित्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै निधिले स्पष्ट बहुमत कसैको नभएको अवस्थामा सरकार परिवर्तन हुनुलाई सामान्यरुपमा लिनुपर्ने बताए ।
निधीलेले आगामी चुनावमा नेपाली काँग्रेसलाई बहुमत दिलाउन सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । उनले नेपाली काँग्रेस अब २०८४ सालको निर्वाचनमा केन्द्रित हुने जानकारी दिए । काँग्रेसमा स्थापना कालदेखि नै अहिलेसम्म गुटै गुट रहेको बताउँदै अब गुटलाई न्यूनीकरण गर्दै प्रतिपक्षमा बसेर सङ्गठन बलियो पार्नुपर्ने बताए । निधीले मुलुकमा गणतन्त्र र शान्ति प्रक्रिया कायम गर्न तत्कालीन पार्टी सभापति गिरिजा प्रसाद कोइरालाको ठुलो भूमिका रहेको बताए ।
तत्कालीन अवस्थामा भएको माओवादी आन्दोलनलाई शान्ति प्रक्रियामा ल्याएर मुलुकमा शान्ति र स्थायित्व कायम गर्न  गिरिजाप्रसाद कोइरालाको निर्णायक भूमिका रहेको निधिको भनाई थियो । कार्यक्रममा काँग्रेस सुनसरी सभापति केदार भण्डारी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, सिताराम मेहता लगायतले आफ्नो विचार राखेका थिए ।