नरेन्द्रप्रसाद दाहाल
प्रारम्भ
रोग निरोधकका रूपमा कृषि बालीमा विभिन्न विषादीहरूको प्रयोग अहिले अनिवार्य आवश्यकता नै बनेको छ । जीवनाशक समेत भनिने यस्ता विषादीको अधिक प्रयोगले कृषि फसल मात्र नभई प्राणी स्वास्थ्यमा समेत गम्भीर प्रतिकुल असर पर्ने गरेको पाइन्छ । त्यसैले यसको प्रयोगमा प्राविधिकहरूको सुझाव सल्लाह अपरिहार्य मानिएको छ ।
बाली संरक्षण अधिकृत हेमराज पन्तका अनुसार ‘बाली बिरुवाहरूमा लाग्ने विनाशकारी प्राणीहरूमा कीरा, सुलसुले, जुका, चिप्ले कीरा, शङ्खे किरा मुसा, चरा, अवाञ्छित झारहरू तथा रोग लगाउने सूक्ष्म जीवाणुहरू जस्तैस् ढुसी, ब्याक्टेरिया, भाइरस, आदि पर्दछन् । यी प्राणीहरूलाई नाश गर्न प्रयोग गरिने रासायनिक वा जैविक पदार्थहरूलाई किटनाशक विषादी’ भन्ने गरिन्छ ।
त्यसै गरी कुनै पनि शत्रु कीरा किटनाशक, रोग ढुसीनाशक, ब्याक्टेरियानाशक, झारपात झारपातनाशक, हर्बिसाइड तथा अन्य जीव जसले खाद्यान्न, बोटबिरुवाहरूको वृद्धि विकास तथा उत्पादन, भण्डारण समय र गुणस्तरमा ह्रास ल्याउँदछन् र तिनीहरूको असर न्यूनीकरण तथा रोकथामको लागि प्रयोग गरिने रसायनयुक्त विषादीलाई रासायनिक विषादी भनिन्छ ।
तिनीहरूको प्रयोगमा सावधानी नअपनाएमा वा उचित रूपमा उपयोग नगरिएमा यसले उपयोगकर्ता, अन्य मानिस, घरपालुवा पशुहरू, वन्यजन्तुहरू र लाभकारी कीराहरूलाई समेत हानी पु¥यांउनुको साथै वातावरणलाई समेत नोक्सान गर्ने पन्त बताउँछन् ।
भ्रम र यथार्थता
कृषि,नेपाली नागरिकको मुख्य कर्म हो । जीवन निर्वाहका लागि कृषि फसल नागरिकको जीवन अस्तित्वसँग जोडिएको कृषिजन्य फसल उपयोग योग्य छ वा छैन भन्ने कुरा आम सरोकारको विषय बन्नु स्वाभाविक छ । कतिपयले किटनाशकलाई औषधिको रूपमा परिभाषित गरेको पाइन्छ । कोशी प्रदेश कृषि निर्देशक प्रकाश कुमार डाँगी भन्छन् ‘विषादी विष नै हो,यसलाई औषधिभन्नु भ्रम हो ।’ त्यसै गरी क्यान्सरादी नसर्ने असाध्य रोगको मुख्य कारण कृषिमा विषादी र रासायनिक मलको प्रयोग मात्रले नभएको उनको धारणा छ । कृषि फसल उत्पादनमा प्रयोग हुने रासायनिक मलले माटोको उर्वरा शक्तिमा असर पु¥याउनेमात्र हो । यसले मानव स्वास्थ्यमै असर पर्छ भन्नु पनि भ्रम नै भएको उनको दाबी छ ।
यस्तै समान धारणा रहेको पाइन्छ खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय विराटनगरका प्रमुख घननाथ अधिकारीको । अधिकारीका अनुसार अत्यधिक तथा अव्यवस्थित रूपमा प्रयोग हुने रासायनिक विषादीहरूले प्राणी जगतको स्वास्थ्यमा गम्भीर असर पु¥याउँछ । गम्भीर प्रकृतिका रोगका कारकहरूमध्ये विषादीको अत्यधिक प्रयोग भएका खानेकुरा एउटा कारण भए पनि‘मूल र एक मात्र कारण यही हो’भन्नु भ्रम मात्र भएको उनको प्रतिक्रिया छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको यस कार्यालयले भारतसँग जोडिएको विराटनगरस्थित रानी भन्सारमार्फत नेपाल भित्रिने तरकारी तथा फलफूलहरूमा प्रयोग भएको विषादीहरूको परीक्षण गरी उपयुक्त मापदण्ड कायम भएमामात्र नेपाल आयात हुन दिने गर्दछ ।
मापन गर्दा विषादीको रेन्ज निर्धारण गरिन्छ । अधिकारीका अनुसार ३५ सम्मको रेन्ज उपभोगका लागि उपयुक्त मानिन्छ । ल्यावमा ३५ देखि ४५ सम्मको रेन्जमा विषादी प्रयोग भएको देखिए रेन्ज घट्ने सम्भावनालाई ध्यानमा राखेर क्वारेनटाइनमा केही दिन अनुमान गरिन्छ र घटेमा नेपालतर्फ ल्याउन अनुमति दिइन्छ ।
नघटेमा प्रतिबन्ध लगाइन्छ । मूलतः तरकारीमा आलु र फलफूलमा स्याउ नेपालतर्फ आउने गरेको तथा हालसम्मको परीक्षण परिणामले उपभोग गर्नै नमिल्ने तरकारी फलफूलहरू कमैमात्रमा आएको अधिकारीले जानकारी दिए ।
खुला सिमाना भएका कारण भारतबाट भन्सार छलेर प्रशस्त मात्रामा तरकारी तथा फलफूलहरू नेपाल भित्रिने गरेको पाइन्छ । ती तरकारी तथा फलफूलमा आवश्यकताभन्दा बढी विषादी प्रयोग भएको हुनसक्ने अनुमान गरिए पनि सरकारी नियमन त्यसको जानकारी हुँदैन र परीक्षण विना नै नेपालको बजारमा भित्रिएर विक्री वितरण हुने गर्दछन् । खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय विराटनगरका प्रमुख घननाथ अधिकारी यस विषयमा कार्यालयलाई औपचारिक जानकारी नभएको बताउँछन् ।
कृषि क्वारेन्टाइन चेकपोस्टले पनि विषादी परीक्षणको प्रभावकारी काम गर्न सकेको छैन । रानी भन्सार नाकामा रहेको सो कार्यालयमा ल्याब छैन । परीक्षणका लागि कुनै नमुनाहरू नआएको त्यहाँका कर्मचारी अरुणकुमार यादवले बताए ।
विषादी प्रयोगको अवस्था र चिन्ता
किटनाशक विषादी र रासायनिक मल खादको अत्यधिक प्रयोगले अन्न, तरकारी र फलफूलहरूमा अधिक नकारात्मक असर पुगेको हुनसक्ने धारणा राख्नुहुने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख विजय खनाल फसल उत्पादन पूर्व अवस्थाको अनुसन्धान आफ्नो कार्यक्षेत्रभित्र नपर्ने बताउँछन् । आगामी आर्थिक वर्षदेखि भने उत्पादन पूर्व अवस्थाको समेत अनुसन्धान गरी परीक्षण गर्ने कार्यक्रम बनाइएको उनले जानकारी दिए । त्यसका लागि आवश्यक उपकरणहरूको समेत व्यवस्था भइसकेको प्रमुख खनालको भनाई छ ।
सोही कार्यालयका खाद्य अनुसन्धान अधिकृत दिनेश सुवेदीका अनुसार उत्पादन पछिको गुणस्तर नियन्त्रणको जिम्मेवारी पाएको सो कार्यालयले चालु आर्थिक वर्षमा कोशी प्रदेशमा चार हजार ओटा निकायहरूको अनुसन्धान गर्दा १९ वटाले गुणस्तरहीन वस्तु विक्री वितरण गरेको पाएकोले आवश्यक कानुनी कारबाही अगाडि बढाएको छ ।
कोशी प्रदेशको कृषिमा अनधिकृत रूपमा विषादीहरू प्रयोगमा नियन्त्रण कायम राख्ने प्रयास भएको छ । त्यसको कृषि विकास निर्देशनालय र मातहतका निकायहरूबाट भइरहेको छ । निर्देशनालय कोशीका निमित्त प्रमुख प्रकाशकुमार डाँगीका अनुसार कृषि फसलमा प्रयोग हुने विषादीहरू, आवश्यक मात्रा र विषादीका हानिकारक पक्षहरू लगायतका विषयहरूमा जानकारी दिने उद्देश्यले ‘विषादी सप्ताह’ र ‘प्लान्ट क्लिनिक’ जस्ता तालिम कार्यक्रमहरू सञ्चालन गरिएको छ ।
प्रदेशका झापा, मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा जिल्लाहरूमा यस्तै किसिमका पुर्नताजगीकरण तालिम सञ्चालित छन् । कृषिमा जैविक विषादीकोको प्रयोगलाई निर्देशनालयले प्राथमिकतामा राखेको छ । यद्यपि यस्ता विषादीको मात्रात्मक न्यूनतासँगै प्रभावकारिता पनि अपुग हुने भएकाले रासायनिक विषादीहरूको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा पनि सरोकारवालाहरूको ध्यानाकर्षण गराइएको छ ।
सङ्घीय तथा स्थानीय निकायहरूबिच समन्वय गरी विषादी प्रयोगमा देखिने कतिपय विसङ्गति नियन्त्रणमा नियमनकारी निकायको हैसियतले भूमिका निर्वाह गर्ने काम निर्देशनालयले गरेको छ । किसानहरूले विषादी प्रयोग पछि केही समय पर्खनुपर्ने हुन्छ तर छिट्टो परिणाम खोज्ने प्रवृतीकासाथ मात्रा बढाएर प्रयोग गर्ने कारणले अलि बढी समस्या उत्पन्न हुने गरेको उनको प्रतिक्रिया छ ।
जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६, जीवनाशक विषादी नियमावली, २०५० ९पहिलो संशोधन २०६४ सहित० र विषादी खुद्रा विक्रेता इजाजत पत्र, सुरक्षित विक्री वितरण, भण्डारण एवं प्रयोग सञ्चालन कार्यविधि, २०७१ र विषादी व्यवस्थापन निर्देशिका जस्ता मौजुदा कानुनको परिधिभित्र रहेर विषादीको प्रयोग भए नभएको विषयमा पनि निर्देशनालयले पटक पटक अनुगमन गरेको छ ।
कानुन विपरीत विषादी विक्री वितरण तथा भण्डारण गर्ने विक्रेताहरूलाई सचेत गराइएको प्रमुख डाँगी बताउँछन् । कृषि क्षेत्रको व्यावसायिकता वृद्धि भएसँगै कृषकहरूले लगाएका बालीहरूमा नयाँ किषिमका शत्रु जीवहरूको पनि वृद्धि भएको उनको बुझाई छ । रोग किरा नियन्त्रण गरेर मात्र ३० देखि ४० प्रतिशत उत्पादन वृद्धि गर्न सकिने भएको कृषकहरूको समस्या बुझेर सही किसिमको विषादी प्रयोग गर्न सुझाउनुपर्ने उनको धारणा छ ।
कृषिमा विषादीको अव्यवस्थित प्रयोगबारे कृषकहरूलाई सचेतना जगाउने काम कृषि ज्ञान केन्द्र भोजपुरले पनि गरेको छ । रासायनिक विषादी प्रयोग सम्बन्धी किसानको जिज्ञासालाई सम्बोधन गर्दै विषादी प्रयोग सम्बन्धी नियमनकारी भूमिका निर्वाह गरिएको छ ।
केन्द्रका प्रमुख मुकेशकुमार यादवका अनुसार ज्ञान केन्द्रको सक्रियतामा ‘ट्राइकोडर्मा’ नामक जैविक विषादीको उत्पादन गरी कृषि फसलमा प्रयोग गर्न किसानहरूलाई सुझाव दिइएको छ । सकेसम्म सामान्यरुपले खतरनाक र सुरक्षित विषादी प्रयोग गर्न सुझाव दिने गरेको उहाँको भनाई छ । प्रति किलोग्राम २००० मिलिग्राम भन्दामाथि एल।डी। ५० भएको विषादीको प्रयोग गर्नु उचित हुने यादवले बताए ।
सोलुखुम्बु जिल्लालाई भने कृषिमा रासायनिक विषादी मुक्त जिल्ला घोषणा गरिएको छ । कृषि ज्ञान केन्द्र सोलुका प्रमुख दुर्गावहादुर तिरुवाका अनुसार कसैले लुकीछिपी रासायनिक विषादी प्रयोग गरेको भएमा बाहेक जिल्लामा हानिकारक विषादी प्रयोग हुने गरेको छैन।
कृषिजन्य फसलहरूमा रोग निरोधक तथा उत्पादनसापेक्ष विषादीको प्रयोग आधारभूत आवश्यकता मानिए पनि अनधिकृत रूपमा हुने त्यस्ता विषादीको प्रयोगले उपभोक्ताहरूको स्वास्थ्यमा प्रत्यक्ष परोक्ष ढङ्गले प्रतिकुल असर पुग्ने बाली संरक्षण प्रयोगशाला झुम्काकी निमित्त प्रमुख सरस्वती श्रेष्ठको धारणा छ । विषादी प्रयोग गर्दा अत्यन्तै सावधानी अपनाउनुपर्ने बताउँदै उहाँले विषादी व्यवस्थापनमा आयातकर्ताहरूको भूमिका संवेदनशील हुने जानकारी गराउनुभएको छ । विषादी परिवहन र भण्डारमा तोकिएका सुरक्षा मापदण्ड पालना नभए त्यसले गम्भीर सङ्कट निम्तनसक्ने उनले बताइन् ।
ठिक ढङ्गले प्रयोग तथा व्यवस्थापन नहुँदा विषादीले ठुलो सङ्ख्यामा नकारात्मक स्वास्थ्य र वातावरणीय प्रभावहरू निम्त्याउने प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोखरेलको भनाई छ । विषादी सम्बन्धी कारोबार गर्दा सम्बन्धित निकायले कानुनले तोकिएका मापदण्डहरूको पूर्णरुपमा पालना गर्नुपर्नेमा उहाँको जोड छ ।
जीवनाशक विषादी नियमावली संशोधन भएको जानकारी गराउँदै उहाँ राजपत्रमा प्रकाशित भएर आएपछि कार्यान्वयनमा आउने जानकारी गराए । संशोधित नयाँ नियमावलीमा विषादी व्यवस्थापन सम्बन्धी अझ प्रभावकारी प्रावधान अपनाइएको उनको भनाई छ ।
संघीयरुपमा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र प्रमुख नियमनकारी निकाय भए पनि जनशक्तिको अभाव लगायतका जटिलताहरूले चाहे जति काम गर्न नसकिएको पोखरेलको गुनासो छ । सङ्घीय संरचना तयार भइसकेको सन्दर्भमा प्रदेशहरूले नै आवश्यक कानुन बनाएर यसमा प्रभावकारिता ल्याउनुपर्ने उनको सुझाव छ । म्याद नागेको विषादीको प्रयोग अत्यधिक हानिकार हुने जनाउँदै उहाँले त्यसमा सरोकारवाला सबै निकाले सावधानी अपनाउ आवश्यक रहेको बताए ।
अन्य सरोकारीहरूको दृष्टिकोण
कृषिमा विषादीको प्रयोगका सन्दर्भमा अनुगमन गर्दा धेरै वेथितिहरू पाइएको जिल्ला प्रशासन कार्यालय मोरङका परमेश्वर भट्टराईको प्रतिक्रिया छ । विभिन्न सरोकारवाला निकायहरूसँग सहकार्य गरेर बजार अनुगमन गर्दा कतिपय पसलहरूले तोकिएको मापदण्ड पालना नगरिएको, परिवहन भण्डारण तथा विक्री वितरणमा लापरबाही भएको पाएको भट्टराईले जानकारी दिए ।
विषादी व्यवसायी सङ्घ कोशीका वरिष्ठ उपाध्यक्ष केदार खड्काले विषादी व्यवस्थापन सम्बन्धी कतिपय प्रावधानहरूले व्यवसायीहरूलाई सशङ्कित र आतङ्कित बनाएको बताए । विषादी जस्तो संवेदनशील विषयको अनुगमन पद्धति नाम मात्रको र शहरमुखी भएको खड्काको प्रतिक्रिया छ । अनुगमनमा व्यावसायीको प्रतिनिधि रहने व्यवस्था गरिनुपर्ने तथा समग्रमा राज्यले व्यवसायमैत्री प्रक्रियाहरू अपनाउनुपर्ने र व्यवसायीहरूले पनि तोकिएको मापदण्डभित्र रहेर कारोबार गर्नुपर्ने आवश्यकता औँल्याए ।
धनकुटाका किसान नगेन्द्र काफ्लेले तरकारी लगायतका कृषि फसलहरूमा विषादी प्रयोग सम्बन्धी पूर्ण ज्ञान नभएको धारणा राखे । विषादी जति पुरानो भयो, त्यति प्रभावकारी हुने गरेको आफ्नो बुझाई रहेको बताउनुहुने काफ्ले आफूले पुरानै बिउ तथा विषादीहरूको प्रयोग गर्ने गरेको प्रतिक्रिया दिए ।
नेपालमा किटनाशक विषादी सम्बन्धी कानुनी प्रावधान
जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ अनुसार जीवनाशक विषादीको पञ्जीकरण आवश्यक छ । कुनै व्यक्ति, संस्था वा निकायले कुनै जीवनाशक विषादी वा विषादीको सक्रिय तत्त्व उत्पादन, निकासी, पैठारी, उत्पादन, संश्लेषण, व्यावसायिक प्रयोग, भण्डारण, बिक्री वितरण, ओसारपसार, प्याकिङ आदि गराउँदा कानुन बमोजिम प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रमा पञ्जीकरण गरी नियमानुसार प्रमाण पत्र लिनुपर्ने हुन्छ ।
कसैले जीवनाशक विषादीको जथाभाबी प्रयोग गरे तोकिए बमोजिमको दण्ड जरिवाना सहनु बुझाउनुपर्ने व्यवस्था छ । कुन हदको गल्ती भएको हो, सो सम्बन्धी भएको व्यवस्था अनुसार दण्ड सजाय गरिनेछ । विषादी उत्पादन, विक्री वितरण, निकासी पैठारी, प्रयोग, पुर्न प्रयोग , मात्रा आदिका बारेमा पनि ऐनले स्पष्ट व्यवस्था गरेकोले कानुनलाई उल्लङ्घन गर्न नमिल्ने व्यवस्था गरिएको छ ।
सरकारले बालीमा प्रयोग हुने मानव स्वास्थ्यका लागि हानिकारक १९ वटा विषादीमा प्रतिबन्ध लगाएको छ । यी यस्ता विषादी हुन्, जसमा मापदण्डभन्दा बढी विषादी रहेको पाइएको छ । यस्ता विषादीको प्रयोगका कारण क्यान्सर, मिर्गौला र कलेजोमा क्षति, हृदयाघात लगायतका गम्भीर रोगहरू बढ्दै गएका छन् । अब यी विषादीहरू दर्ता, पैठारी, उत्पादन, निर्माण, ढुवानी, बिक्री र प्रयोग गर्न पाइने छैन ।
कृषिमा किटनाशक विषादीको महत्व
किसानहरूले कृषि खेतीमा अनावश्यक झार र कीराहरू नियन्त्रण गर्न प्रयोग गरेका किटनाशकहरू किटनाशकहरू कृषि उत्पादनमा अपरिहार्य छन् । करिब एक तिहाइ कृषि उत्पादनहरू किटनाशकको प्रयोगमा निर्भर हुन्छन् । किटनाशकहरू कृषि भूमि र हरियाली क्षेत्रहरूमा प्रयोग गरिने कृषि रसायनहरू हुन् जसले बोटबिरुवा र मानवहरूलाई विभिन्न रोगहरूबाट जोगाउन प्रयोग हुने गर्दछन् । विषादीको प्रयोग नगर्दा फलफूल उत्पादनमा ७८ प्रतिशत, तरकारी उत्पादनमा ५४ प्रतिशत र अनाज उत्पादनमा ३२ प्रतिशत नोक्सानी हुने अनुमान गरिएको छ । तसर्थ, किटनाशकहरूले रोगहरू कम गर्न र विश्वव्यापी रूपमा बाली उत्पादन बढाउन महत्त्वपूर्ण भूमिका खेल्छन् ।
सार्वजनिक स्वास्थ्य र कृषि गतिविधिहरू सहित विभिन्न क्षेत्रहरूमा विभिन्न प्रकारका किटनाशकहरू प्रयोग गरेर विविध लाभहरू पनि हासिल गरिएको हुन्छ । किटनाशक प्रयोगबाट उत्पादन वृद्धि गर्न सकिन्छ । कृषि उत्पादनमा भएको वृद्धिसँगै खाद्यान्नको पर्याप्तता, खेती र कृषि व्यवसायमा बढोत्तरी, राजस्व, पोषण र स्वास्थ्य सुधार, खाद्य सुरक्षा, जीवनको गुणस्तर सुधार लगायतका फाइदाहरू हासिल गर्न सकिन्छ ।
बढ्दो जनसङ्ख्याको माग पूरा गर्न खाद्यान्नको बढ्दो मात्रा उत्पादन गर्नुपर्ने आवश्यकताले कृषिमा विषादीको व्यापक प्रयोगलाई निम्त्याएको मानिन्छ । तिनीहरूको ठुलो खपत फङ्गी, ब्याक्टेरिया, कीराहरू र प्रतिस्पर्धी झारहरूको आक्रमणबाट कृषि भूमिको उत्पादकत्व जोगाउन विषादीको प्रयोग आवश्यक भएको देखिन्छ ।
नेपालमा प्रतिबन्धित विषादीहरू
नेपालमा अल्ड्रिन, डाइअल्ड्रिन, इन्ड्रीन, हेप्टाक्लोर, डि।डि।टि, बी।एच्।सी, ओरगानोम्रक्युरिक फङ्गीसाइड, इन्डोसल्फान, लिन्डेन, टोक्जाफेन, माइरेक्स, फोसपामेडिन, क्लोराडेन, मोनोक्रोटोफस् र इन्डोसल्फान गरी १६ वटा विषादीहरूको ओसार पोसार र प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।
प्रतिबन्धित विषादीहरूमा रातो लेबल हुन्छ र यी विषादी सबैभन्दा बढी खतरनाक हुन्छन् । विषादीमा हरियो, निलो, पहेँलो र रातो लेबल कायम गरी खतराको वर्गीकरण गरिएको छ । हरियो उपयोगी र रातो खतरायुक्त मानक कायम गरिएको छ भने पहेँलो लेबल निलोभन्दा बढी खतरायुक्त वर्गमा पर्दछ ।
कृषि उत्पादनको प्रारम्भ
विश्वका धेरै ठाउँहरूमा कृषि विकासको लामो इतिहास छ । कृषि अभ्यास लगभग दश हजार वर्ष पहिले मेसोपोटामियाको उर्वर अर्धचन्द्राकारमा सुरु भएको मानिन्छ । यो क्षेत्र आजको इराक, टर्की, सिरिया र जोर्डनसँग मेल खान्छ । यी क्षेत्रहरूमा बस्ने मानिसहरूले केही अनाज खेती, वन बगैँचा जस्ता माध्यमहरू मार्फत खाद्य बीउहरू सङ्कलन गरेको इतिहास छ । जब जनसङ्ख्या बढ्न थाल्यो ठुलो मात्रामा गहुँ, जौ, मटर, दाल, चना आदिको खेतीमा वृद्धि हुँदै गएको पाइन्छ । अफ्रिकाको साहेल क्षेत्रमा करिब सात हजार ५०० वर्ष अघि धानलगायतका अन्न खेती गरिन्थ्यो । यसबाहेक पश्चिम अफ्रिकाका साथै न्यूगिनी र इथियोपियामा लगभग सात हजार ५०० वर्ष पहिले केही स्थानीय बालीहरू लगाउन सुरु गरिएको थियो । चामल र कोदो चीनमा, अमेरिकाले मकै, स्क्वायस, आलु र सूर्यमुखी उत्पादन गरेको इतिहास छ ।
किटनाशक प्रयोगको प्रारम्भ
विषादी प्रयोगको इतिहासलाई तीन कालखण्डमा विभाजन गर्न सकिन्छ । सन् १८७० भन्दा पहिलेको पहिलो अवधिमा, विभिन्न प्राकृतिक यौगिकहरू प्रयोग गरेर किटहरू नियन्त्रण गरिन्थ्यो । दोस्रो अवधि सन् १८७०–१९४५ को बिचमा, मानिसहरूले अकार्बनिक सिन्थेटिक सामग्रीहरू प्रयोग गर्न थाले । तेस्रो अवधि सन् १९४५ पछि सिन्थेटिक किटनाशकको प्रयोगले व्यापकता प्राप्त गर्न थालेको मानिन्छ । किटनाशकहरू सहस्राब्दीदेखि विश्वव्यापी कृषि उत्पादनको हिस्सा भएको मानिएको छ ।
नेपालमा प्रथम पटक सन् १९५२ मा औलो रोग नियन्त्रणको लागि डिडीटी आयात गरिएको थियो । यसैलाई नै विषादी प्रयोगको इतिहास मान्न सकिन्छ । सन् १९७७ मा कपिलवस्तुको बहादुरगञ्जमा स्थापित ‘नेपाल पेष्टिसाइड एन्ड केमिकल इण्डष्ट्रिज’ पहिलो विषादी उत्पादन गर्ने कारखाना मानिन्छ । नेपालमा ८ वटा विषादी संश्लेषक, ४२ वटा विषादी व्यावसायिक प्रयोगकर्ता, ३३० वटा विषादी आयातकर्ता र १७२९८ विषादी खुद्रा बिक्रेता रहेको तथ्याङ्क पाउन सकिन्छ ।
खाद्य सुरक्षा जोखिमहरू
भनिन्छ, स्वस्थ आहार नखानु खाद्यजन्य रोगबाट बच्न असफल हुनु हो । विश्वमा एक अर्बभन्दा बढी मानिस खाद्य असुरक्षा र कुपोषणबाट पीडित छन् । अध्ययनहरूले किटनाशकहरूबाट क्यान्सर र दम लगायतका विभिन्न रोगहरू उत्पन्न हुन सक्छ । बालबालिका, गर्भवती महिलाहरू र ज्येष्ठ नागरिकमा अरूहरूभन्दा किटनाशकहरूको प्रभावहरूप्रति बढी संवेदनशील हुन सक्छन् । प्रजनन, स्तनपान, र शिशुहरूको अङ्गहरूमा समेत किटनाशक प्रयोग असर पुग्दछ । जनावरमा हुने प्रजनन र गर्भावस्थामा पनि यसको प्रत्यक्ष असर पर्न सक्छ । एलर्जी, पक्ष घात, प्रजनन क्षमतामा कमी वा बाँझोपन÷नपुंसकता, स्वास प्रश्वास सम्बन्धी रोगहरू, कलेजो सम्बन्धी समस्या देखिने, मानसिक असन्तुलन, वंशाणुगत परिवर्तन, क्यान्सर जस्तो भयानक रोग लाग्न सक्ने, बच्चा स्वस्थ नजन्मिने, आदिको कारण पनि विषादीको अधिक प्रयोगलाई मानिएको छ ।
विषादीको असरका कारण टाउको दुख्ने, रिँगटा लाग्ने र वाकवाकी हुने गर्दछ । त्यसपछि जाडो महसुस भई पसिना आउने, झाडा वान्ता हुने लक्षणहरू देखा पर्दछन् । मांसपेशीहरू थर्कने, धेरै कम्पन र अचेत हुने अवस्थाहरू समेत हुन सक्ने विज्ञहरूको भनाई छ । शिशुले पिउने आमाको दूधमा पनि किटनाशक अवशेषहरू प्राप्त भइसकेको छ र बच्चाहरूमा जन्म पूर्व नै जोखिम उत्पन्न भएको छ । पिउने पानीमा रहेका किटनाशक गर्न समेत विभिन्न विषादीकै प्रयोग हुने गरेको पाइन्छ । किटनाशकहरूको प्रभावलाई कम गर्न पर्यावरणमैत्री किटनाशक विकल्पहरू र एकीकृत किट व्यवस्थापन प्रविधिहरूको विकास गर्न आवश्यक ठानिएको छ ।
किटनाशकहरू प्रत्यक्ष रूपमा कृषि तथा घरायसी प्रयोगबाट र अप्रत्यक्ष रूपमा आहार मार्फत मानव जीवनमा प्रवाहित हुन्छ । किटनाशकहरू मानवको सम्पर्कमा आउने मुख्य मार्गहरू खाद्य शृङ्खला, हावा, पानी, माटो, वनस्पति र जीवजन्तुहरू हुन् । किटनाशकहरू रगतको माध्यमबाट पनि मानव शरीरमा वितरित हुन्छन् ।
विषादीले मानव स्वास्थ्य र वातावरणमा पार्ने असर भयावह छ । एक अध्ययनका अनुसार चीनमा बर्सेनि ५ लाख व्यक्ति विषादीको संसर्गमा आएर बिरामी पर्ने गरेका छन्, जसमध्ये ५ सय जनाले प्रत्येक वर्ष ज्यान गुमाउँछन् ।
किटनाशक प्रयोगको अवस्था
एक तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष तीन अर्ब किलोग्राम किटनाशकहरू प्रयोग गरिन्छ । फलस्वरूप, किटनाशक प्रदूषणले वातावरणलाई प्रदूषित गरेको छ र मानव स्वास्थ्यमा नकारात्मक असर पारेको हो । धेरै किटनाशकहरू स्वास्थ्य र वातावरणीय समस्याहरूसँग सम्बन्धित छन् ।
केही किटनाशकहरूको कृषि प्रयोगमा रोक लगाइएको अवस्था पनि छ । किटनाशकको सम्पर्क छालासँगको सम्पर्क, इन्जेक्सन वा सास लिँदा हुनसक्छ । मानव वा जनावरको शरीरभित्र, किटनाशकहरू मेटाबोलाइज्ड, उत्सर्जित, भण्डारण वा शरीरको बोसोमा जम्मा हुनसक्छ । रासायनिक किटनाशकहरूसँग सम्बन्धित धेरै नकारात्मक स्वास्थ्य प्रभावहरूमा, छालासम्बन्धी, न्यूरोलोजिकल, कार्सिनोजेनिक, श्वासप्रश्वास, प्रजनन, र अन्तःस्रावी प्रभावहरू समावेश छन् । किटनाशकको जोखिमले अस्पताल भर्ना र मृत्यु समेत हुनसक्छ ।
पहिले–पहिले रासायनिक तत्वहरूको प्रयोग थिएन । कृषि उपज संरक्षणमा जैविक तत्त्वहरूको महत्त्वपूर्ण भूमिका रहन्थ्यो । पछिल्लो समय जैविक प्रविधिको विकास विस्तार वृहद रूपमा हुन सकेको पाइँदैन । परम्परागत कृषि विधिहरूको अवसान हुँदै गर्दा जैविक पद्धतिको पनि ह«ास हुँदै गएको छ । अहिले धेरै रासायनिक किटनाशकहरू उत्पादन गरिएको छ ।
कतिपय बहुराष्ट्रिय कृषि रसायन कम्पनीहरू स्थापना भएका छन्, जसले विश्वव्यापी खाद्य उत्पादनलाई नियन्त्रण समेत गर्न खोजेको देखिन्छ । किटनाशक गुणहरू सहित नयाँ रासायनिक पदार्थहरू लागू गरिएका छन् । विश्वव्यापी रूपमा, प्रत्येक वर्ष सयौँ नयाँ किटनाशकहरू पनि बनाइन्छ । वर्तमान कृषि अभ्यासहरू रासायनिक किटनाशकहरूको व्यापक प्रयोगमा आधारित छन्, जुन मानव स्वास्थ्य, वन्यजन्तु र प्राकृतिक वातावरणमा नकारात्मक प्रभावहरूसँग सम्बन्धित मानिन्छन् ।
किटनाशकको प्रयोगको असर
किटनाशकहरू किटहरू मार्न र रासायनिक सामग्रीहरू प्रयोग गरेर झार नियन्त्रण गर्न प्रयोग गरिन्छ । त्यसले गर्दा चराहरू, माछाहरू, लाभदायक कीराहरू र अन्य बोटबिरुवाहरू साथै हावा, पानी, माटो र बालीहरू लगायत अन्य जीवहरूका लागि पनि विषाक्तता उत्पन्न हुनसक्छ ।
किटनाशक प्रदूषणले गर्दा वातावरणीय प्रदूषण हुन्छ । त्यस्ता रासायनिक अवशेषहरूले वातावरण र खाद्य प्रदूषणको माध्यमबाट मानव स्वास्थ्यलाई गम्भीर असर गर्छ । हानिकारक कीराहरूलाई रोक्न, हटाउन वा नियन्त्रण गर्न किटनाशकहरू विकास गरिएको भए तापनि कतिपय अध्ययनहरूले किटनाशकहरूले वातावरण र मानव स्वास्थ्यमा हुने खतराहरूको चिन्ता पनि जगाएका छन् ।
जलवायु परिवर्तन सम्बन्धी कारकहरूले पनि किटनाशक प्रदूषण बढ्छ । तसर्थ, भविष्यमा किटनाशक प्रयोग र व्यवस्थापनको लागि आवश्यक वैज्ञानिक जानकारी प्राप्त गर्न जरुरी ठानिएको छ ।
किटनाशक प्रदूषण र प्राकृतिक वातावरणमा यसको प्रतिकुल प्रभावहरू
जनसङ्ख्या वृद्धि र जलवायु परिवर्तनले मुख्यतया किटनाशकको बढ्दो प्रयोगमा योगदान पु¥याएको छ र भविष्यमा उच्च विश्वव्यापी किटनाशक उत्पादन अनुमान गरिएको छ ।
किटनाशक विषादीको पानीमा प्रभाव पर्दछ । केही किटनाशकहरू सहित धेरै रसायनहरू सतहको पानी र भूमिगत पानीमा पत्ता लागेको छ । किटनाशकहरू जलीय झार र कीराहरूको नियन्त्रणको लागि प्रत्यक्ष प्रयोग गरिन्छ । जसका कारण सतहको र भूमिगत पानी दुवैमा प्रवेश गर्दछ । पानीमा किटनाशक गतिशीलताले पानीका स्रोतहरूमा किटनाशक प्रदूषण उत्पन्न हुन्छ ।
जब माटोमा किटनाशकहरू प्रयोग गरिन्छ, त्यसले केही हदसम्म त बिरुवा रोगहरू विरुद्ध लड्न सुरक्षात्मक भूमिका देखाउँछ । सँगसँगै किटनाशकहरूको ठुलो मात्रा माटोमा पुग्छ, परिणामस्वरूप गम्भीर माटो प्रदूषण हुन्छ । किटनाशकको माटोमा प्रभावले माटोको क्षमता, माटोको कार्य वा गुणस्तरमा ह«ास हुनसक्छ । जसले गर्दा कृषि उत्पादनमा पनि त्यसको नकारात्मक परिणाम देखिन्छ । यसबाट इकोसिस्टमसाथ खाद्य गुणस्तर र कृषि दिगोपनमा प्रतिकुल प्रभाव पर्ने विज्ञहरू बताउँछन् ।
विषादीको असर न्यूनीकरणका उपायहरू
किटनाशकका अवशेषहरू दैनिक खाना र पेय पदार्थहरूमा पाइन्छ, उदाहरणका लागि पकाएको खाना, पानी, वाइन, फलफूलको रस, अन्य खानेकुरा र जनावरको दाना । धोएर र ताछेर पनि कतिपय अवशेषहरू पूर्ण रूपमा हटाउन सकिँदैन ।
विषादी खानेकुरा, हावा र पानीबाट हाम्रो सम्पर्कमा आउने भएकोले खानेकुराबाट आउने विषादीलाई राम्रोसँग धोएर तथा बोक्रा ताछेर प्रयोग गर्दा न्यूनीकरण गर्न सकिन्छ । विषादीको मात्रा कम गर्न पानीले धुनेस् तरकारी र फलफूललाई भाँडोमा डुबाएर धुनु भन्दा धारा वा बग्दो पानीमा ब्रसले कुना काप्चामा समेत राम्ररी धोएपछि त्यसमा रहेको सम्पर्क विषादी, पाइराथ्राइड विषादी ७०५ कम हुने, ब्याक्टेरिया र फोहोर समेत जाने गर्दछ । २५५ खाने नुन वा खाने सोडा सफा पानीमा मिसाएर १०–१५ मिनेट डुबाउने वा आधा कप भिनेगर २ कप पानीमा १०–१५ मिनेट डुबाउने वा कागती पानीमा तरकारीलाई धोएर प्रेसर कुकरमा पकाएर खाँदा विषादीको मात्रा करिब ८०५ घट्ने बताइएको छ ।
निष्कर्ष
कृषि गतिविधिहरूको लागि प्रयोग गरिने किटनाशकहरूको अत्यधिक प्रयोगले प्राणी तथा वनस्पति जगतमा व्यापक रूपमा असर पु¥याएको छ । यसले स्वास्थ्य क्षेत्रमा चुनौती नै खडा गरेको मानिन्छ । यद्यपि यसको प्रयोग अनिवार्य सर्त नै बन्न पुगेको छ । विश्वमै प्राणी तथा वनस्पतिको आहारको आधारभूत तत्त्व नै मानिएको किटनाशक विषादीको समुचित प्रयोग नै सबैभन्दा महत्त्वपूर्ण विषय बन्न पुगेको छ ।
नेपालको सन्दर्भमा पनि जैविक तथा प्राङ्गारिक उत्पादनको चर्चा चल्ने गर्दछ । तथापि त्यसलाई उत्पादनको भरपर्दो पद्धति बनाउन नसकिएको कृषि क्षेत्रका विज्ञहरूबाटै सुन्न सकिन्छ । फलस्वरुप रासायनिक विषादीको प्रयोग अनिवार्य सर्त बन्न पुगेको मान्नुपर्छ । विषादी प्रदूषणलाई न्यूनीकरण गर्न रासायनिक विषादीसँगै जैविक विषादीको प्रवर्द्धन र विकास गर्न जरुरी छ ।
विश्वका अन्य मुलुकको तुलनामा कृषिमा विषादीको कम प्रयोग गर्ने देशमा नेपाल पनि पर्दछ । तर असरको दृष्टिकोणले नेपाल जस्तै देशहरू बढी प्रभावित हुनुमा यसको प्रयोगमा विधि सङ्गत पद्दतिपालनाको अभाव हो । प्रयोगमा ल्याइएता पनि ‘विषादी विषै हो, यसलाई औषधि मान्न सकिँदैन’ भन्ने मान्यताका साथ यसको प्रयोगमा सावधानी अपनाउनु चाहिँ महत्त्वपूर्ण कुरा हो ।
विषयगत ज्ञानको हिसाबले प्रयोगकर्ता सामान्य किसान वा उपभोक्ताहरू हुन् । उनीहरूमा यसको प्रयोगबाट हुने हानी नोक्सानी भन्दा पनि परिणाम छिटो र सहज चाहिएको हुन्छ । फलस्वरुप प्रयोगमा अपनाउनुपर्ने न्यूनतम सावधानी र मापदण्डको परिपालना नभएको पनि हुनसक्छ । त्यसैले तत्सम्बन्धी राज्यको कानुन, विज्ञको सुझाव र अभ्यासबाट उत्पन्न परिस्थितिको अनुभवलाई समेत ख्याल गरेर आफ्नो कृषि कर्ममा किटनाशक विषादीको प्रयोग गर्नु उचित हुनेछ।
किटनाशक विषादी व्यवस्थापनको काम सम्बन्धित सरोकारवाला पक्षको कुशल समन्वयबाटमात्रै कम हानिकारक वा बढी लाभदायक बनाउन सकिन्छ भन्ने विज्ञहरूको सुझावलाई समेत ध्यान दिनुपर्ने आवश्यकता छ । विषादीको अनुचित प्रयोगले माटो प्रदूषण, जल प्रदूषण, वायु प्रदूषण र खाद्य प्रदूषणलगायत वातावरणीय प्रदूषण निम्त्याउँछ भने राज्यले विषादीको नकारात्मक असरलाई न्यूनीकरण गर्ने प्रभावकारी योजना बनाएर लागू गर्नुपर्छ ।
रासायनिक विषादीको स्वास्थ्य र वातावरणीय असरलाई ध्यानमा राखी कृषिमा नयाँ अवधारणाको खाँचो देखिन्छ । स्वास्थ्य, वातावरणीय र आर्थिक फाइदाहरूमा परिणाम दिन सक्ने कृषि नीतिभित्र विषादीको वैज्ञानिक प्रयोगलाई समेट्न जरुरी छ । खाद्य उत्पादनको वर्तमान अवस्थालाई दिगो विकास र उपभोक्ताहरूको स्वास्थ्यको संरक्षणलाई लक्षित गर्ने नयाँ कृषि नीतिहरूमा लागू गरिनुपर्छ । किटनाशक प्रयोग र नियमनमा वर्तमान प्रवृत्तिहरू र उपभोक्तालाई किटनाशक प्रयोगको जोखिम कम गर्नका लागि गरिएका उपायहरूबारे सचेतना मूलक गतिविधिलाई व्यापक बनाइनुपर्छ ।
सन्दर्भ सामाग्री : विषयगत विज्ञहरूको धारणा, किटनाशक विषादी सम्बन्धी जारी भएका राष्ट्रिय तथा केही अन्तर्राष्ट्रिय लेख तथा जर्नल र कानुनी व्यवस्था सम्बन्धी डकुमेन्टको अध्ययन ।