विराटनगर । झापाको शिवसताक्षी नागरपालिका माइधारका सरोज शर्माको हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिव शताक्षी नगरपालिका १० माईधारका २५ वर्षीय सुनिल शाह र २६ वर्षीय राहुल शाह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शर्मा कार्तिक ९ गतेदेखि गाडी सहित बेपत्ता भएका थिए । शर्माको शव आज बिहान झापाको बाह्दशी गाउँपालिका र झापा गाउँपालिकाका बिचमा रहेको बिरिंग खोलामा फेला परेको थियो । ३३ वर्षीय शर्माले चढ्ने बाग्मती प्रदेश ०१–०३ च ७१९४ नम्बरको कार झापाको मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनभित्र बेवारिसे अवस्थामा केही पनि अघि नै फेला परेको थियो ।उनले चढ्ने कारमा आगो लगाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी राजन लिम्बुले शर्माको सब झापा गाउँपालिका र बाह्दशी गाउँपालिका बिच भएर बग्ने बिरिङ खोलाको पुलमुनि गाडेको अवस्थामा आज बिहान फेला परेको बताए । उनले शर्माको सब खोला किनारमा गाडिएको र दुर्गन्ध फैलेपछि स्थानीयले प्रहरीलाई खबर गरेको बताए ।

लिम्बुले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए । उनले भने, शर्माको के कारणले हत्या भएको हो यस बारेमा अनुसन्धान भइरहेको छ ।