सुनसरी-नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिले गृहमन्त्री रबी लामिछानेको काम कारबाही टिप्पणी गर्न लायक नभएको बताएका छन् । प्रेस युनियन सुनसरीले इटहरीमा सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै निधिले गृह मन्त्रालय लामिछाने जस्तो अपरिपक्क मान्छेले चलाएको आरोप लगाए । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका निधिले भने - अहिलेका गृहमन्त्रीको काम गराई अपरिपक्क देखियो, यो भन्दा अरू के भन्नु । 
         शनिवार मात्रै प्रमुख प्रतिपक्षी दलका नेता एवं काँग्रेस सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष ओलीबिच बालकोटमा भएको भेटवार्तालाई लक्षित गर्दै निधिले तत्काल सरकार परिवर्तन हुनेबारेमा आफूलाई थाहा नभएको बताए । अहिले स्पष्ट बहुमत कसैको पनि नभएकाले सरकार परिवर्तनलाई सामान्यरुपमा लिनुपर्ने उनले बताए । काँग्रेसलाई अवसर आयो भने सरकारमा जाने निधिले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाललाई बारम्बार सरकार फेरबदल गरेर उथलपुथल गर्ने विशेषज्ञको संज्ञा दिँदै निधिले भने - उथलपुथलको विशेषज्ञ प्रधानमन्त्री पुष्पकमल दाहाल हुन्, शेरबहादुर देउवा र केपी शर्मा ओली होइनन् ।“ 
         निधिले वर्तमान संविधान संशोधन जरुरत रहे पनि २०८४ को निर्वाचन अगाडि सम्भावना नरहेको प्रस्ट पारे । संविधान संशोधनको एजेण्डा लिएर २०८४ को निर्वाचनमा जानुपर्ने र जनताले म्याण्डेड दिएको अवस्थामा मात्र संविधान संशोधन हुनसक्ने निधिको भनाई थियो । राज्यको पुनर्संरचनाको काम अझै बाकी रहेको बताउँदै निधिले संविधान प्रदत्त अधिकार प्रदेशमा हस्तान्तरण नगरिएको बताए ।