विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १ ले ज्येष्ठ नागरिकहरूलाई टेबल पङ्खा वितरण गरेको छ । 
सोमबार आयोजित कार्यक्रममा ८० वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकहरूलाई वडा समितिले टेबल पङ्खा वितरण गरेको हो । कार्यक्रममा वडाध्यक्ष काजीबहादुर बस्नेत, कार्यपालिका सदस्य खुम्बु विश्वकर्मा, सचिव भक्त गोराथोकी, वडा सदस्य सुशील गुभाजु, लक्ष्मी राई, कर्मचारी सुमन दाहाललगायतले टेबल पङ्खा वितरण गरे ।  पहिलो दिन ४० जना ज्येष्ठ नागरिकलाई पङ्खा वितरण गरिएको वडाध्यक्ष बस्नेतले जानकारी दिए ।
त्रिवेणी मार्गस्थित ज्येष्ठ नागरिक चौतारी आयोजित कार्यक्रममा आउन नसकेका ज्येष्ठ नागरिकको घरमै पुगेर पङ्खा वितरण गरेको उहाँले बताउनुभयो । वडाध्यक्ष बस्नेतका अनुसार वडाभित्रका सबै ज्येष्ठ नागरिकले पङ्खा कार्यक्रमलाई निरन्तरता दिइनेछ । वडाभित्र १ सय ७० जना ज्येष्ठ नागरिक रहेको तथ्याङ्कमा उल्लेख छ । उनीहरू सबैलाई टेबल पङ्खा वितरण गरिनेछ । कार्यक्रम स्थलमा आउन नसक्नेलाई घरमै पुगेर वितरण गरिने उनले जानकारी दिए । कार्यक्रम सफल बनाउन वडाका स्वास्थ्य स्वयंसेविकाहरूको अहम् भूमिका रहेको भन्दै वडाध्यक्ष बस्नेतले धन्यवाद समेत दिए ।

यसअघि वडाको आर्थिक सहयोगमा ज्येष्ठ नागरिकहरूलाई स्वर्गद्वारीसहितका विभिन्न स्थलको ७ दिने धार्मिक यात्रासमेत गराइएको वडाध्यक्ष बस्नेतले बताए ।  चौतारीमा बस्न र गफ गर्न आउने ज्येष्ठ नागरिकहरूलाई वडाले चियाको समेत व्यवस्था मिलाएको छ ।