काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा आज सुनुवाइ हुँदैछ । यसअघि हेर्दाहेर्दैमा रहेकोले सर्वोच्चले असार १८ गतेका लागि सुनुवाइ तोकेको थियो ।
न्यायाधीशद्वय सपना मल्ल प्रधान र सारंगा श्रेष्ठको इजलासले लामिछानेसँग जोडिएको मुद्दाको सुनुवाइ असार १८ गते गर्ने भन्दै हेर्दाहेर्दैमा राख्ने आदेश दिएको हो । निवेदकका कानुन व्यवसायीले बहस सकेका छन् । गृहमन्त्री लामिछानेका तर्फबाट बहस बाँकी छ।
अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरुद्ध रिट दायर गरेका हुन् ।
जेठ १४ गते दायर रिटमा गृहमन्त्री लामिछाने पदमै रहँदा अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्नसक्ने दाबी गरिएको छ । प्राकृतिक न्यायको सिद्धान्त विपरीतसमेत रहने भन्दै उहाँलाई पदबाट निलम्बन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का नाममा अन्तरिम आदेशको माग गरिएको छ ।
रिटमा कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानुनी वैधतामाथि पनि प्रश्न उठाइएको छ ।