विराटनगर ।  माहेश्वरी महिला मञ्च विराटनगरले शंकरपुरस्थित जनता नमुना माविलाई खानेपानीको फिल्टर प्लान्ट प्रदान गरेको छ । मञ्चले विद्यालयका विद्यार्थी, शिक्षक र सर्वसाधारणले समेत सेवा पाउने गरी विद्यालय परिसरभित्र र बाहिर सडकपेटीमा गरी २ ठाउँमा यस्तो प्लान्ट राखेको हो ।
कुल २ लाख रुपैयाँको लागतमा राखिएका प्लान्टका विद्यालय भित्र र बाहिर दुवैतिरका धाराबाट एक दिनमा २ हजार जनाले लाभ पाउन सक्ने मञ्चले जनाएको छ । 
विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले मङ्गलवार दुवै ठाउँमा जडित प्लान्टको उद्घाटन गरिन् । उपप्रमुख कार्कीले केही समययता मञ्चले गरेका सेवा कार्यमा आफू उपस्थित भएको उल्लेख गर्दै यसबाट प्रभावित रहेको बताइन् । मञ्चका अध्यक्ष राठीले यस परियोजनामा फिल्टर भएको १५ सय लिटर पानी अट्ने स्टोरेज ट्याङ्क राखिएको र गर्मी महिनामा चिसो पानी उपलब्ध हुने गरी निर्माण गरिएको जानकारी दिइन् ।
e8fb300d-6751-407c-97bf-4dcc9858bad7
प्लान्टमा ५ तहको फिल्टर भएको र यसले पिउनयोग्य आरओ र युभी सहितको उत्पादन गर्ने अध्यक्ष राठीको भनाइ छ । 
राठीका अनुसार फिल्टरको प्रति घण्टा १२० लिटर पानी उत्पादन गर्ने क्षमता छ । मञ्चले प्रदान गरेको फिल्टर प्लान्टको मर्मत सम्भार र रेखदेखको काम विद्यालय व्यवस्थापनले गर्ने सहमति भएको छ । 
कार्यक्रममा अध्यक्ष राठी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोजविक्रम शाहले सम्झौता पत्र हस्ताक्षरपछि आदानप्रदान समेत गरे ।
विद्यालयका प्रधानाध्यापक ईश्वर घिमिरेले केही दिन अघिको गर्मीमा विद्यार्थीहरू पर्याप्त पिउने पानी नपाएर अप्ठेरोमा परेको बताए ।
प्र अ घिमिरेले चर्को गर्मीमा विद्यार्थीहरू प्यासले छट्पटिइरहेका बेला मञ्चका अध्यक्ष राठी र उहाँको समूह आएर पिउने पानीको प्लान्ट राखिदिन्छु भन्दा आफूलाई जल देवता आएजस्तै लाग्यो भन्ने धारणा व्यक्त गरे ।