सुनसरी । सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा मंगलबार पनि सुनुवाइ सकिएन ।

       अन्तरिम आदेशका लागि भएको सुनुवाइमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका अनुसार लामिछानेविरुद्धको उक्त मुद्दाको बाँकी सुनुवाइ बुधबार हुनेछ । यसअघि पनि यो मुद्दा हेर्दाहेर्दैमा रहेर मंगलबारका लागि पेसी चढेको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासमा सुनुवाइ भइरहेको हो । यो मुद्दामा महान्यायाधीवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ । 


         महान्यायाधीवक्ताको कार्यालयले लामिछानेविरुद्ध सहकारी ठगीमा कास्की, चितवन र रुपन्देहीका प्रहरी कार्यालयमा उजुरी नपरेको र त्यहाँका अदालतमा मुद्दा विचाराधीन नरहेको भनेर कार्यक्षेत्र बाहिर गई पत्र लेखेको भन्दै सर्वोच्चमा रिट परेको हो । लामिछानेसँग जोडिएको यो मुद्दाको निवेदकका कानुन व्यवसायीले बहस सकेका छन् । गृहमन्त्री लामिछानेका तर्फबाट बहस नसकिएकाले बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता पोखरेलविरुद्ध रिट दायर गरेका हुन् ।