सुनसरी - नेपाली काँग्रेसका पूर्व महामन्त्री एवंम केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले गृहमन्त्री रबी लामिछाने अत्तालिएर जथाभाबी प्रतिक्रिया दिँदै हिँड्न थालेको आरोप लगाएका छन् । बुधवार प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले सत्ता समीकरण परिवर्तन भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने आत्तिएको आरोप लगाए । लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताएका थिए । पार्टी पदाधिकारी बैठकपछि मङ्गलवार लामिछानेले दिएको यस्तो प्रतिक्रियालाई लक्षित गर्दै लामिछानेले सत्ता छाड्नुपर्दाको पिडा व्यक्त गरेको कोइरालाले आरोप लगाए । उनले भने- अगुल्टाले हानेको कुकुर बिजुली चम्कँदा तर्सिन्छ लामिछाने जी लाई नि यस्तै भएको छ । काँग्रेस एमालेबिचको नयाँ समीकरण बनेपछि नेकपा एमालेबाट मन्त्री भएकाहरूले तत्काल राजीनामा दिनुपर्ने कोइरालाले बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिन आलटाल गरेपछि एमालेले आफ्ना मन्त्रीहरू फिर्ता बोलाएर दबाब दिनुपर्ने कोइरालाले बताए । लोकतन्त्रको सुन्दरता भनेकै बलियो प्रतिपक्ष भएको बताउँदै कोइरालाले दुई ठुला दल काँग्रेस र एमाले मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर बन्ने आशंका व्यक्त गरे । यसले मुलुक एक तान्त्रिक शासनतर्फ जान सक्ने डर भएको कोइरालाको भनाई थियो । कोइरालाले भने -’सत्ता पक्षले कमजोरी गर्दा प्रश्न उठाउन नसक्ने प्रतिपक्ष भएपछि लोकतन्त्र कसरी बलियो हुन्छ ? प्रतिपक्षलाई बलियो बनाउन सक्नुपर्छ । प्रतिपक्ष बलियो भएन भने लोकतन्त्र कमजोर हुन्छ ।’
कम्युनिस्ट पार्टीसँग मिल्नु हुँदैन भनेर आफूले बिगतदेखिनै भन्दै आएको बताउँदै कोइरालाले काँग्रेसकै कारण कम्युनिस्टहरू स्थापित भएको दाबी गरे । संविधानमा संशोधन गर्नुपर्ने थुप्रै विषयहरू रहेको भन्दै यसमा सबैको साथ चाहिने कोइरालाले बताए ।