विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेश सभाका गतिविधिहरूलाई जनताको बिचमा लैजानु पर्ने बताए । संसदीय पत्रकार मञ्च कोशी प्रदेशले शनिवार विराटनगरमा आयोजना गरेको संसदीय पत्रकारिता तालिमको उद्घाटन गर्दै प्रदेश सभाले गरेका कामहरूको बारेमा जनतालाई अझ व्यवस्थित ढङ्गबाट जानकारी दिन जरुरी रहेको बताए ।  
संसदीय पत्रकारिता गरिरहेका पत्रकारहरूले प्रदेश सभामा हुने काम र यसका गतिविधिहरूलाई जनतामा लैजान विशेष भूमिका निर्वाह गर्नुपर्ने भन्दै उहाँले त्यसका लागि सहकार्य गरेर अघि बढ्न प्रदेश सभा सधैँ तत्पर रहेको बताउनुभयो । प्रदेश सभाबाट सम्पादन भइरहेको कामको विषयमा पर्याप्त जानकारी नहुँदा र अहिलेको व्यवस्थामा प्रदेश सभाले गर्ने काम तथा त्यसको महत्त्व बुझाउन नसक्दा यसप्रति कतिपय नकारात्मक टिप्पणी हुने गरेको उहाँले बताउनुभयो । 
कोशी प्रदेश सभालाई खुला, पारदर्शी र व्यवस्थित बनाउने कार्यमा प्रदेश सभाको नियमित रिपोर्टिङ गर्ने पत्रकारहरूको र संसदीय मञ्चको भूमिकाको उनले प्रशंसा समेत गरे ।  ‘प्रदेश सभाका गतिविधिहरूलाई सार्वजनिक गर्न पत्रकारहरूले महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ यसलाई अझै बढी सार्वजनिक गरौँ र जनतालाई सयको महत्वको बारेमा थप प्रस्ट पारौँ, उनले भने,  प्रदेश सभाको गतिविधिलाई महत्त्व दिने एक जना उत्कृष्ट पत्रकारलाई सम्मान गर्ने गरी आगामी वर्ष पत्रकारमैत्री प्रदेश सभा कार्यक्रम राखिएको छ ।
कार्यक्रममा उपसभामुख सिर्जना दनुवारले प्रदेश सभामा भएका गतिविधिलाई सार्वजनिक गर्ने कार्यमा संसदीय पत्रकारिता गर्ने पत्रकारहरूको योगदान महत्त्वपूर्ण रहेको बताए ।   संसद् र संसदीय पत्रकारहरूबिचको सम्बन्ध कोशीमा  अन्य प्रदेशको भन्दा व्यवस्थित रहेकोले त्यसलाई अझ बढी प्रभावकारी बनाउँदै लैजानु पर्ने उनले बताइन् ।  पछिल्लो समय प्रविधिको प्रयोग गर्ने क्रममा संसद्मा उपस्थित नभई युट्युब र अन्य माध्यम प्रयोग गर्ने प्रचलन पत्रकारहरूमा बढ्दै जाँदा संसद्मा कम उपस्थिति हुन थालेकोमा उनले चिन्ता जनाइन्  ।  उपसभामुख दनुवारले संसद मै उपस्थित भएर रिपोर्टिङ गरिदिन पत्रकारहरूलाई विशेष अनुरोध गरिन् । 
कार्यक्रममा प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले पत्रकारहरूको सहजताका लागि स्थायी पास लगायत अन्य व्यवस्था र दक्षता अभिवृद्धिका लागि आवश्यक कार्यक्रमहरूमा प्रदेशसभा सचिवालयले सहजीकरण र सहयोग गर्ने बताए ।
संसदीय पत्रकारिता गरिरहेका र गर्न चाहने पत्रकारहरूले नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तथा संसदीय पत्रकारिता क्षेत्रका विज्ञ शिव गाउँलेलगायतले प्रशिक्षण दिए ।