विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दैवी प्रकोपका समयमा उद्धार र राहत वितरणमा स्काउटको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्  ।  

स्थानीय स्काउट परिषद्को दीक्षान्त तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय स्काउट परिषद्का संरक्षकसमेत रहेका मेयर कोइरालाले स्काउटको क्षेत्रलाई व्यापक बनाउनु पर्नेमा जोड दिए । शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको भए पनि स्काउटले रक्तदान, बाढी पहिरो र डुबानपीडितको उद्धारलगायतमा सक्रिय हुनुपर्ने बनाए  ।  नेपालमा जहानियाँ राणा शासन अन्त्यपछि २००९ सालमा स्थापित स्काउटको आफ्नै छुट्टै पहिचान रहेको मेयर कोइरालाले उल्लेख गरे  । 

दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्काउटले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनको भनाई छ।   कोरोना कालमा राहत वितरणसँगै नागरिकलाई सचेतना फैलाउन पनि स्काउटले खेलेको भूमिकाको मेयर कोइरालाले प्रशंसा गरे ।  

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले स्काउटले समाजलाई अनुशासित बनाउन भूमिका खेलेको चर्चा गरिन्  ।  समाज रूपान्तरणमा स्काउटको योगदान महत्त्वपूर्ण रहेको बताउँदै उपमेयर कार्कीले स्काउटको मूल मर्म र भावनाअनुसार कार्य गर्नु आवश्यक रहेको औँल्याए  ।  इमान्दारिता, अनुशासन, परोपकारी, राष्ट्र र शान्ति स्काउटको मूल सिद्धान्त र नियम भएको उनले बताए ।  कार्यक्रममा मेयर कोइरालालाई राष्ट्रिय प्रशिक्षक तथा राष्ट्रिय कार्यकारी समितिका सदस्य (आयुक्त) नवलप्रसाद उपाध्यायले दीक्षित गराए ।

त्यस्तै स्थानीय स्काउट परिषद् सदस्यहरूलाई पनि विराटनगर महानगरपालिकाकी उपमेयर तथा स्थानीय स्काउट प्रमुख शिल्पा निराला कार्कीले सपथ गराउनुभएको छ । कार्यक्रममा स्काउटका सहप्रमुख आयुक्त किरण गिरी, राष्ट्रिय सामुदायिक विकास आयुक्त सुदर्शन भट्टराई, प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीलगायतले शुभकामना व्यक्त गरे ।  स्थानीय स्काउट कार्यालय विराटनगरको आयोजनामा भएको कार्यक्रममा स्थानीय स्काउट परिषद्का २६ जना सदस्यलाई दिक्षित गरिएको स्थानीय स्काउट प्रमुख आयुक्त नवीन पहाडीले बताए ।