विराटनगर । केटी जिस्काएको निहुँमा दुई समुहबचिमा ‘ग्याङ फाइट’ हुँदा एक जना युवक मारिएका छन् । दुई जना घाइते भएका छन्। 
विराटनगर महानगरपालिका–२ स्थित नेपाल टेलिकमनजिक सोमबार राति १० बजेतिर दुई समूह विज ‘ग्याङ फाइट’ भएको थियो । सो क्रममा मोरङको कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको छ ।  गम्भीर अवस्थाका कामतको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको हो । 

उनको छाती र कम्मरको भागमा धारिलो हतियारले घोपेको चोट छ । घाइते २ जनाको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले घटनामा संलग्न ४ जनालाई पक्राउ गरिएको बताए । 
घटनामा कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएको बस्नेतले बताए । घाइतेमध्ये कोखा र ढाडमा चोट देखिएका रायको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

घटनामा संलग्न विराटनगर–११ घर भई विराटनगर–२ स्थित विराट नर्सिङ होमअगाडि डेरा गरेर बस्दै आएका २० वर्षीय सोनु गिरी, ताप्लेजुङको दोखु घर भई नर्सिङ होमअगाडि डेरा बस्दै आएका १८ वर्षीय सन्तोष भनिने निमदावा शेर्पा, भोजपुरको भुल्के घर भई नर्सिङ होमअगाडि डेरा बस्दै आएका २० वर्षीय सञ्जय पुरी र मोरङको रङेली घर भई विराटनगर–२ स्थित सनीहाटमा डेरा बस्दै आएका १६ वर्षीय बालक पक्राउ परेका छन् ।