सुनसरी । सुनसरीका ५२ प्रतिशत सार्वजनिक भवन असुरक्षित रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।

सुनसरी जिल्लाका सार्वजनिक भवनको बहुप्रकोपीय द्रुत दृश्यात्मक सर्वेक्षण प्रतिवेदनले उक्त तथ्य प्रस्तुत गरेको हो । आज उक्त प्रतिवेदनबारे इटहरीमा छलफल गरिएको थियो । उक्त प्रतिवेदन अनुसार विद्यालयका भवनहरू भूकम्पलगायत विपद्लाई थेग्न नसक्ने देखिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर इन्जिनियर तथा शाखा प्रमुख सुदीप विक्रम भट्टले बताउनुभयो ।

भट्टका अनुसार सुनसरीलगायत १३ जिल्लामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दक्ष प्राविधिकद्वारा अध्ययन गरेको थियो । प्राधिकरणले सुनसरीका २० प्रतिशत सरकारी तथा सार्वजनिक भवन भत्काएर पुनः निर्माण गर्नुपर्ने देखिएको जनाएको छ । सुनसरीका १२ स्थानीय तहमध्ये सबैभन्दा सुरक्षित गढी गाउँपालिकाको भवन र सबैभन्दा असुरक्षित सुनसरी देवानगञ्जका सरकारी भवन रहेको अध्ययनले देखाएको छ । ती भवनलाई विपद्बाट जोगाउन प्रारम्भिक रूपमा मर्मत सम्भार गर्नुपर्ने अध्ययनमा उल्लेख छ । ती भवनहरू मर्मत गर्न रु तीन अर्ब ६७ करोड लाग्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर इन्जिनियर तथा शाखा प्रमुख भट्टले जानकारी दिनुभयो ।

तत्काल यति ठुलो रकम व्यवस्था हुन नसक्ने भएकाले पालिकाले अब बनाउने सार्वजनिक भवन भूकम्पलगायत विपद्का जोखिमलाई मध्यनजर गरेर बनाउनुपर्ने प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताउनुभयो । कार्यक्रममा स्थानीय तहहरूका प्रमुख, उपप्रमुख, कार्यकारी अधिकृत, इन्जिनियर तथा विपद् व्यवस्थापन शाखाका विज्ञको उपस्थिति रहेको थियो ।