विराटनगर। शिक्षकका अनुभव, अनुभूति, सिर्जना तथा सामाजिक आवाजलाई समेटिएको पुस्तक ‘हाम्रो आवाज: शिक्षकका कलममा अनुभव र सिर्जना’ विमोचन गरिएको छ। लैङ्गिक हिंसा विरुद्धको १६ दिने राष्ट्रिय अभियानको सन्दर्भ पारेर नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला कमिटी मोरङ महिला विभागको आयोजनामा  सुन्दरहरैँचा–१० स्थित सुकुना माध्यमिक विद्यालयमा पुस्तक विमोचन गरिएको हो। 

२०१ पृष्ठ लामो उक्त पुस्तक पाँच खण्डमा विभाजन गरिएको छ। पुस्तकमा १५ वटा लेख, २० वटा कविता, ३ वटा गजल तथा मुक्तक र ५ वटा कथा तथा लघुकथासहित विविध साहित्यिक र वैचारिक सामग्री समावेश गरिएको पुस्तकको साहित्यकारद्वय मिश्र बैजयन्ती र दिनेश श्रेष्ठले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गरेका थिए।

सङ्गठनका केन्द्रीय सचिव बेनु काफ्लेको प्रमुख आतिथ्य तथा जिल्ला महिला विभाग प्रमुख धर्मकुमारी कालाखेतीको अध्यक्षतामा कार्यक्रम भएको थियो। कार्यक्रममा विभाग प्रमुख कालाखेतीले महिला विभाग गठनका क्रममा अघि सारिएको कार्य योजनालाई मूर्तरूप दिन पुस्तक प्रकाशन गरिएको बताइन्। शिक्षकहरूले कक्षाकोठामा भोगेका अनुभव, शिक्षण पेसाका चुनौती र अनुभूतिहरूलाई आफैँले लिपिबद्ध गरी दस्तावेजीकरण गर्नुपर्नेमा उनले जोड दिइन्। 

“हामीले भोगेका कुरा र कक्षाकोठाका अनुभवलाई आफैँले लेख्नुपर्छ,” कालाखेतीले भनिन्,“यसले अहिलेको समाज, हाम्रो पुस्ताको शिक्षण विधि, शैली र भोगाइलाई भावी पुस्तासम्म पुर्‍याउने  ऐतिहासिक दस्ताबेजको काम गर्नेछ।” शिक्षकहरूलाई एकताबद्ध गर्ने गरी तयार पारिएको यो कृतिले शिक्षकहरूलाई शिक्षण पेसामा मात्र सीमित नराखी समाजका अनुभवी सर्जक, विचारक र परिवर्तनका संवाहकका रूपमा समेत स्थापित गर्न खोजेको शिक्षक कञ्चनमाला देवकोटाले जानकारी दिइन्। शिक्षकहरूमा रहेको साहित्यिक प्रतिभा र सिर्जनात्मक क्षमतालाई बाहिर ल्याउने उद्देश्यले पुस्तक निकालिएको आयोजकको दाबी छ। 

विमोचन समारोहमा सङ्गठनका केन्द्रीय सचिव बेणु काफ्ले, सचिवालय सदस्य रीता पाठक, प्रदेश तथा जिल्ला तहका नेता, साहित्यकार, शिक्षक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रम सहसचिव कञ्चनमाला   देवकोटाले सञ्चालन गरेको कार्यक्रमको स्वागत मन्तव्य सह कोषाध्यक्ष पवित्रा सापकोटाले गरिन्। कार्यक्रममा नवनियुक्त प्रधानाध्यापक कविता खनाललाई सम्मान गरिएको थियो।