विराटनगर । विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशका ८ जिल्लाका किसानहरूको दूधको रकम लामो समयदेखि भुक्तानी गर्न नसकेपछि कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किसानहरूलाई रकम उपलब्ध गराउन पहल थालेका छन्।

प्रदेशका विभिन्न जिल्लाका किसानहरूले दूधको रकम नपाएको गुनासो मुख्यमन्त्री कार्कीसँग गरेपछि उनले रकम उपलब्ध गराउने विषयमा पहल थालेको उनको सचिवालयले जनाएको छ।

शुक्रबार विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख र कर्मचारीहरूलाई कार्यालयमा बोलाएर रकम कसरी उपलब्ध गराउन सकिन्छ र प्रदेश सरकारले केके सहयोग गर्न सक्छ भन्ने विषयमा मुख्यमन्त्रीले छलफल गरेका हुन्। 

प्रदेश सरकार तीनै तहको संरचनासँग समन्वय गरेर अगाडि बढ्ने सरकार भएकाले किसानको गुनासोलाई सम्बोधन गर्न सरोकारवालालाई बोलाएर समन्वय र निर्देशन दिइएको मुख्यमन्त्री कार्कीले बताए। आयोजना संघीय सरकारको संरचना भए पनि किसानको हितलाई ध्यानमा राखेर आयोजनासँग सहकार्य गर्ने र पूर्णरुपमा सञ्चालन र बजारीकरणका लागि संघीय सरकारसँग पनि छलफल गरेर अगाडि बढ्ने उल्लेख गरे।

मुख्यमन्त्री कार्कीले संघीय सरकारसँग पनि किसानको रकम उपलब्ध गराउन तत्कालै कुराकानी गर्ने र चाँडोभन्दा चाँडो रकम दिनका लागि समन्वय गर्ने बताए।

विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशको धनकुटा, तेह्रथुम, उदयपुर, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर साथै मधेस प्रदेशको सप्तरी जिल्लासमेत गरेर किसानलाई ३२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

कार्यालयका प्रमुख परमेश्वर चौधरीका अनुसार बजारमा खुल्लारुपमा बिक्री भइरहेको दूधभन्दा आयोजनाले बेच्ने दूध महँगो भएको र बजारीकरणमा पनि समस्या भएकाले अहिलेको अवस्था आएको बताए। आयोजनाले प्रतिलिटर ९८ रुपैयाँमा दूध बिक्री गरिरहेको चौधरीले जानकारी दिए।