सुनसरी । अन्तर धार्मिक शान्ति महासङ्घ नेपालले सरोकारवालाहरूबिच धार्मिक सवालमा विश्वव्यापी आवधिक समीक्षा तथा अन्तर धार्मिक शान्ति अभियान कार्यक्रम सम्पन्न गरेको छ । इटहरीमा आयोजना गरिएको कार्यक्रममा विश्वव्यापी आवधिक समीक्षा(यूपिआर) का लागि विभिन्न धर्ममा के कस्ता मानव अधिकार हननका घटना भएका छन् त्यसबारे चर्चा गरिएको थियो ।
विभिन्न धर्मका गुरुहरू, राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय तहका प्रतिनिधिहरू र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी कार्यक्रममा पछिल्लो समय विभिन्न धर्ममा भएका मानव अधिकार उल्लङ्घन तथा हननका विषयमा सुझाव सङ्कलन गरिएको थियो । बिभिन्न् पक्षबाट आएको सुझावको आधारमा विश्वव्यापी आवधिक समीक्षा (यूपिआर) का लागि प्रतिवेदन तयार पारिने आयोजकले जनाएको छ । यूपिआर संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्को एउटा महत्त्वपूर्ण चक्रीय संयन्त्र हो, जहाँ अन्य राष्ट्रहरूले लगभग हरेक पाँच वर्षमा प्रत्येक सदस्य राष्ट्रको मानवअधिकारको अवस्थाको समीक्षा गर्छ ।
“सबै धर्मको एउटै चाहना, धार्मिक सद्भाव र शान्तिपूर्ण समाजको स्थापना” भन्ने मूल लक्ष्य लिई नेपालभर रहेका अन्तर धार्मिक शान्तिको क्षेत्रमा कार्यरत संस्था तथा सञ्जालहरूबिच सहकार्य गर्दै समाजमा धार्मिक सहिष्णुता र अन्तर धार्मिक शान्तिको प्रवर्द्धनका लागि अन्तर धार्मिक शान्ति महासङ्घको स्थापना भएको महासङ्घका अध्यक्ष रामभक्त कुरुम्बाङले जानकारी दिए । यो संस्थाले मानव-मानवबिचमा एकताको भावना विकास गर्दै मुलुकमा दिगो शान्ति स्थापनार्थ साझा सवालहरूमा सहकार्य गरी अघि बढने उद्देश्यका साथ काम गरिरहेको उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्र लावतीले अन्तर धार्मिक शान्ति महासङ्घ नेपाल युनाइटेड मिसन टु नेपाल र स्थानीय साझेदार संस्था सामुदायिक विकास मञ्च मोरङ लेटाङसँगको साझेदारीमा विभिन्न धर्मगुरुहरू र अनुयायीहरुबीच समन्वय गरेर समुदायमा धार्मिक सहिष्णुता र शान्ति निर्माणको लागि अन्तर धार्मिक शान्ति सञ्जाल गठन गरी यसको स्थापना भएको जानकारी दिए ।