विराटनगर । कोशी प्रदेश पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गरेका हुन्
। मुख्यमन्त्री कार्कीले प्रदेशका बालबालिकालाई खोपबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित प्रदेश पूर्ण खोप सुनिश्चित घोषणा गर्दै मुख्यमन्त्री कार्कीले बालबालिकाले १६ महिनामा सबै १३ वटा खोप लगाउने अधिकार कुण्ठित हुन नदिन मन्त्रालय, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई आग्रह तथा निर्देशन दिए ।
मुख्यमन्त्री कार्कीले प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गर्न पाएकामा खुसी व्यक्त गरे । उनले यसबाट राष्ट्रिय तथ्याङ्क एवं मानचित्रमा प्रदेशको नाम राख्न पाएकामा सबैलाई बधाई एवं शुभकामना दिए । उनले सरकारले आगामी साउनदेखि नागरिकका घरदैलोमा स्वास्थ्य जाँच गर्न विशिष्ट स्वास्थ्यकर्मीको साथमा मोबाइल भ्यानबाट सेवा प्रारम्भ गर्ने प्रतिबद्धता व्यक्त गरे । “यहाँहरू सबैको सहयोगमा प्रदेशलाई प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गर्न सकिएको छ, उनले भने, अब बाल विवाह, छुवाछूत, बाल मृत्यु, सुत्केरी मृत्युदर न्यूनीकरण गर्न सबैले आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक लाग्नुपर्ने आवश्यकता छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले महामारी आउन नदिनका लागि बालबालिकालाई तोकिएको समयमा सबै खोप दिनुपर्नेमा जोड दिए ।उनले प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव राधिका थपलिया र स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतलाई प्रदेशका १४ जिल्लाका एक सय ३७ पालिका खोप सुनिश्चित भएको प्रमाणपत्र हस्तान्तरण गरे । कार्यक्रममा स्वास्थ्य स्वयम सेविकाहरूले २०५३ सालदेखि सरकारले उपलब्ध गराएको ४ सयलाई बढाउन माग गरे । 'लामो समयदेखि खोपको कार्यक्रम चलेको दिनको दैनिक भत्ता ४ सयले काम गर्न सकस भइसकेको छ,उनीहरूले भने, स्वास्थ्य स्वयमसेविकाहरुले तलब मागेका छैनन्, राज्यले खटिएको दिनको न्यूनतम एक हजार गर्न हामी माग गर्दछौँ ।'