विराटनगर । बजेट खर्चलाई प्रभावकारी बनाउन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रमुख सचिवसँग कार्य सम्पादन सम्झौता गरेका छन् ।
नयाँ आर्थिक बर्षको अघिल्लो दिन मुख्यमन्त्री कार्कीले प्रमुख सचिवसँग कार्य सम्पादन सभ्झौता गरेका हुन् ।
आगामी आर्थिक बर्ष २०८१।८२को बजेट खर्चलाई प्रभावकारी बनाउन प्रमुख सचिव केदारनाथ शर्मासँग कार्यसम्पादन सम्झौता गरेका हुन ।
प्रदेश सरकारका सबै मन्त्रीहरूलाई राखेर मुख्यमन्त्री कार्कीले प्रमुख सचिव शर्मासँग कार्य सम्पादन सम्झौता गरेका हुन । त्यस लगत्तै प्रमुख सचिव शर्माले मुख्यमन्त्री कार्यालयका सचिव बद्री कार्की र विष्णुप्रसाद पौडेलसँग कार्य सम्पादन सम्झौता गरेका छन् ।
प्रदेश सरकारले साउनदेखि नै विकासका कार्यक्रम कार्यान्वयनमा तिब्रता दिने मुख्यमन्त्री कार्कीले बताएका छन् ।
आगामी साउन १५ भित्र सबै मन्त्रीलाई सचिवसँग र सचिवले मातहतका कार्यालय प्रमुख र महाशाखा प्रमुखसँग सम्झौता गर्न मुख्यमन्त्री कार्कीले निर्देशन दिएका छन् ।
कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्तिम २५ दिनमा मात्रै ८ अर्ब १९ करोड ६९ लाख ६८ हजार ४४१ रुपैयाँ खर्च गरेको थियो ।
३६ अर्ब ८१ करोड ९० लाख ७४ हजार रुपैयाँ बजेट विनियोजन गरेको प्रदेश सरकारले २८ अर्ब ३६ करोड ७८ लाख ७६ हजार ६ सय ४४ रुपैयाँ मात्रै खर्च गरेको थियो ।।