विराटनगर । सङ्खुवासभामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बिलुवा दोभानमा पहिरोले पुरिएर एकाघरका २ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। अर्का एक जना घाइते भएका छन् । आज बिहान ५ बजे मोतीमाया राईको टाटी बेरा भएको घरमा ढुङ्गासँगै झरेको पहिरो खस्दा घर भित्र रहेका ६ जना मध्ये दुई जनाको ज्यान गएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भिमबहादुर दाहालले जानकारी दिए ।
पहिरोमा परि घर धनी ५५ वर्षीय मोतीमाया राई र बुहारी २७ वर्षीय समीक्षा राईको घटनास्थलमा नै मृत्यु भएको छ भने छोरी २७ वर्षीय रबिना राई घाइते भएको प्रवक्ता दाहालले बताए। घाइते रबिनालाई थप उपचारको लागी नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी सशस्त्र प्रहरी बल अस्पताल बलम्बु काठमाडौँ लगिएको छ ।
ज्वाइँ नाताका ३३ वर्षीय मनि कुमार राई, नाति १२ वर्षीय अमिर राई र नातिनी ४ वर्षीय समृद्धि राईलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय
सङ्खुवासभाबाट प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली उद्धारमा खटिएको छ । घटनास्थल सदरमुकामबाट ५ घण्टा पश्चिम उत्तर पैदल दुरीमा रहेको छ ।