विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुटपिट गर्ने धम्की दिएका छन् । हिजो साँझ ४ बजेर ५३ मिनेटमा फोन गर्दै निवर्तमान मुख्यमन्त्री कार्कीले कुटपिट गर्दै शौचालयमा थुन्ने धम्की दिएपछि भट्टराईले सुरक्षाको माग गरेका छन् । 
उनले जिल्ला प्रशासन कार्यालय मोरङ र कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा समक्ष सुरक्षाको माग राख्दै निवेदन दिएका हुन्। मुख्यमन्त्रीले नै कुटपिट गर्ने धम्की दिएपछि आफू असुरक्षित भएकाले सुरक्षाको माग राख्दै निवेदन दिएको बताए । 
उनले भने, पूर्व मुख्यमन्त्रीले फोन गरेर तँलाई चुट्दै शौचालयमा लगेर थुन्छु भन्नु भयो । मलाई असुरक्षा भयो मैले सुरक्षाको माग राख्दै निवेदन दिएको हुँ । 
विराटनगरमा सञ्चालन भएको विराट गोल्ड कपको पैसा मन्त्रालयले नदिएर असहयोग गरेको भन्दै आफूलाई धम्की दिएको सचिव भट्टराईले बताए । केदार कार्की मुख्यमन्त्री हुँदा विराटनगरमा भएको गोल्डकपका लागि दिने भनिएको रकम अर्थले सहमति नदिएपछि रोकिएको थियो । आफू मुख्यमन्त्री हुँदै अर्थले सहमति नदिएर रोकिएको बजेटको विषयमा फोन गरेर कुटपिट गर्ने धम्की आएको सचिव भट्टराईले बताए । 
मुख्यमन्त्रीसँगै कार्की अर्थ मन्त्री समेत थिए ।
सो बेला कानुनको अभावमा अर्थले रकम निकासाको सहमति दिएन । भट्टराईले भने ‘मैले के गरौँ भनेर पूर्व मुख्यमन्त्रीलाई बहालमा हुँदै सोधेको थिए । त्यति बेला केही निर्णय गरिदिनु भएन । अहिले आएर सोही बजेटका विषयमा आक्रमणको धम्की दिनु भयो । ’
सामाजिक विकास मन्त्रालयले विराट गोल्ड कप सँगै झापा गोल्ड कप र बुढासुब्बा गोल्डकपका लागि बजेट माग गरेको थियो । तर पुरानो रकम भुक्तानीमा अर्थले सहमति नदिँदा पुरानो भुक्तानी गर्न मन्त्रालयले सकेको थिएन । सोही विषयमा असहयोग गरेको भन्दै निवर्तमान मुख्यमन्त्री कार्कीले धम्की दिएका हुन् । 
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले आफूकहाँ निवेदन परेको बताए । उनले निवेदन परेपछि आफूले सचिव भट्टराईको सुरक्षाको प्रबन्ध मिलाएको बताए । उनले सुरक्षा समितिको बैठक बसेर थप सुरक्षाको प्रबन्ध मिलाउने बताए ।