विराटनगर । त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरको ९एन–एएमई सिआरजे–२०० जहाज दुर्घटनामा मृत्यु भएका १८ जना मध्ये तीनजना विराटनगरको रहेको पाइएको छ । 

जहाज दुर्घटनामा मृत्यु भएका जहाजका को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर अश्विन निरौला र सुरक्षा (सेफ्टी चिफ) सागर आचार्य विराटनगरका हुन् । 

मृत्यु भएका कटुवाल विराटनगर–३ स्थित आयल निगम पूर्वका बासिन्दा भएको सौर्य एयरलाइन्स विराटनगर स्टेसन म्यानेजर प्रकाश पौडेलले जानकारी दिए ।

त्यसैगरी दुर्घटनामा ज्यान गुमाउने इन्जिनियर निरौला पनि विराटनगरकै बासिन्दा हुन् । उनको घर विराटनगर–१ स्थित जिल्ला प्रहरी कार्यालय मोरङ नजिकै रहेको जनाइएको छ ।

सौर्य एयरका सुरक्षा (सेफ्टी चिफ) सागर आचार्य विराटनगर–८ मधुमाराका बासिन्दा हुन् । 

आज बिहान ११ बजे सौर्य एयरलाइन्सको जहाजका पाइलट ३७ वर्षीय मनिष शाक्यको भने उद्दार गरिएको छ । उनको अहिले केएमसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको जहाज करिव दुई सय मिटर माथि पुगेपछि कोल्टिएर भुईँमा बजारिएको थियो । जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।