सुनसरी । पर्यटकीय क्षेत्र भेडेटारमा निर्माण गरिएको स्काईवाक आज देखी सञ्चालनमा आएको छ । कोसी प्रदेश लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको समन्वयमा निर्माण गरिएको स्काईवाक आजबाट सञ्चालनमा आएको हो । वन्डर्स एम्युजमेन्ट पार्क एन्ड अट्रयाक्सन्स प्रालीको २० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको स्काईवाकको कोसी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले उद्घाटन गरेका छन् ॥

धनकुटा र सुनसरीको सीमा स्थलमा रहेको भेडेटार आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको केन्द्र मानिन्छ । स्काईवाक सञ्चालनबाट त्यस स्थानको थप आकर्षण बढ्ने परियोजनाका कार्यकारी निर्देशक सञ्जीव रोक्काले जानकारी दिए । परियोजना सञ्चालनका लागी कोसी प्रदेश लगानी प्राधिकरणले २५ वर्षका लागि अनुमति दिएको जनाइएको छ ।

५० मिटर लम्बाइ रहेको स्काईवाक क्यान्टलिभिर टावरको मोडलमा निर्माण भएको परियोजना निर्देशक रोक्काले बताए । एक पटकमा दुई सय जना हिँड्न सकिने उक्त स्काईवाकको उचाइ १ सय, चौडाइ ४ मिटर र घुम्तीमा १० मिटरको रहेको छ । चार बर्स अघि कोसी प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईको पालामा सम्झौता भई उक्त स्काइवाक निर्माण थालिएको थियो ।