सुनसरी । मोरङको बुढिगंगा गाउँपालिकामा सञ्चालित एक औषधि पसलबाट प्रतिबन्धित औषधि सहित सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

बुढिगंगा गाउँपालिका ६ कोयलपुर स्थित जनसेवा मेडिकल पसलमा प्रहरीले छापा मारेर सञ्चालक र ठुलो परिमाणमा प्रतिबन्धित औषधि नियन्त्रणमा लिएको हो । 

प्रतिबन्धित औषधिको कारोबार हुने गरेको सूचना पाएपछि प्रहरीले छापा मारेको हो । 

इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी नायव निरीक्षक प्रवीण खड्का नेतृत्वको टोली र प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले संयुक्त रूपमा छापा मारेको थियो । 

फार्मेसीबाट प्रेगाबलिन क्याप्सुल ३ सय २० ट्याब्लेट, स्पासरेट १ सय ५२, ट्रमाडोल ३ सय ९ र डिकोलिक २ सय ११ ट्याब्लेट बरामद भएको नेमुवाका प्रहरी नायव निरीक्षक खड्काले जानकारी दिए । नेपालमा प्रयोगमा प्रतिबन्ध लगाइएका औषधिको कारोबार फार्मेसीबाट हुने गरेको सुचना पाएपछि छापा मारी नियन्त्रणमा लिइएको उनले बताए । 

प्रतिबन्धित औषधिको कारोबार गर्ने गरेको पाइएपछि फार्मेसी सञ्चालक बुढिगंगा–६ की ५१ वर्षीया गेनावती चौधरीलाई पक्राउ गरिएको हो । प्रतिबन्धित औषधिसहित फार्मेसीबाट ७ हजार ३ सय रूपैयाँ प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी खड्काले दिए ।