विराटनगर । धरानमा खानेपानीको शुल्क र  महसुल बढाइएपछि १० वटा राजनीतिक दलले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । यस अघि साउन ११ गते धरानमा क्रियाशील रहेका राजनैतिक दलले खानेपानीको शुल्क र महसुल पुरानै कायम गर्न माग राख्दै  धरान खानेपानी व्यवस्थापन बोर्डलाई ७२ घन्टे अल्टिमेटम सहित ज्ञापन पत्र  दिएका थिए ।

अल्टिमेटम दिँदा पनि महसुल नघटाएपछि  राजनैतिक दलहरूले चरणबद्ध आन्दोलनको घोषणा  गरेका छन् । उनीहरूले यस अघि खानेपानीको पुरानै महसुल कायम गर्न माग गरेका थिए । 
खानेपानी व्यवस्थापन बोर्ड धरान उप महानगर अन्तरगत छ । बोर्डको अध्यक्ष उप महानगरका मेयर रहेन व्यवस्था छ । खानेपानी बोर्ड सञ्चालनमा समस्या भएको भन्दै बोर्डका अध्यक्ष हर्क साम्पाङगले खानेपानी जडान होल चेन्ज, नामसारी, मर्मत तथा चेकमा लाग्ने शुल्क र खानेपानीको महसुलमा ९ हजार ९ सय प्रतिशत सम्म महसुलमा वृद्धि गरेको धरानका राजनीतिक दलहरुले बताएका छन् ।

मेयरको एकल निर्णयबाट शुल्क र महसुलमा वृद्धि भएको धरानमा क्रियाशील दलहरूको आरोप छ । बोर्डले साउन महिनाबाट लागू हुनेगरि खानेपानीको शुल्क र  महसुलमा वृद्धि गरेको हो । 
खानेपानी बोर्डले ११ प्रतिसतदेखि ९ हजार ९०० प्रतिशत सम्म शुल्क र महसुलमा वृद्धि गरेको पाइएको छ । शुल्क र महसुल वृद्धि अवैज्ञानिक भएको नेकपा एमाले धरानका अध्यक्ष हर्कजङ्ग एभेङ्गले बताए । उनका अनुसार ९ हजार ९०० प्रतिशत सम्म शुल्क र महसुल वृद्धि भएका कारण बाध्य भएर विरोधमा उत्रनु परेको एभेङ्गको दाबी छ ।

धरानमा क्रियाशील राजनीतिक दलहरूले निकालेको विज्ञप्तिमा १७ गते विभिन्न सरोकारवाला सङ्घसंस्थाहरूसँग अन्तरक्रिया गर्ने, १८ गते सबै वडा कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने, २० गते धर्ना कार्यक्रम गर्ने चरणबद्ध आन्दोलनका कार्यक्रम उल्लेख छ । 

bigyapti

यस्तो छ परिमार्जित शुल्क र महसुल 

धरानमा नयाँ धारा जडानमा ५ हजार रुपैयाँ वृद्धि गरेको छ । यस अघि १/२ इन्चको पाइपमा घारा जडान गर्दा  १५ हजार रुपैयाँ तिर्नु पर्थ्यो । खानेपानी बोर्डले त्यसलाई बढाएर २० हजार रुपैयाँ बनाएको छ । बोर्डले ४/३ को पाइपमा नयाँ धारा जडान शुल्क २५ हजार तोकेको छ । यस अघि 
४/३ इन्चको धारा जडान गर्दा १० हजार रुपैयाँ तिर्नु पर्दथ्यो । बोर्डले १ इन्चको पाइपको धारा जडान ५० हजार शुल्क तोकेको छ । यस अघि धरानवासीले १ इन्चको पाइपमा धारा जडान गर्दा १५ हजार रुपैयाँ तिर्दै आएका थिए । १–१/२ इन्चको धारा जडानको शुल्क ७५ हजार पर्याइएको छ । यस अघि धरान खानेपानी बोर्डले १–१/२ इन्चको पाइपमा धारा जडान गर्न २० हजार रुपैयाँ शुल्क लिँदै आएको थियो । 
यसै गरी धरान खानेपानी बोर्डले होल चेन्जको शुल्क समेत वृद्धि गरेको छ । १/२ को पाइपको होल चेन्जमा २ हजार रुपैयाँ शुल्क लिँदै आएको बोर्डले अव ५ हजार रुपैयाँ लिने गरी शुल्क तोकेको छ ।  ४/३ को पाइपको होल चेन्जमा ३ हजारबाट ८ हजार पुर्याइएको छ । यस्तै १ इन्चको पाइपमा ४ हजारबाट १० हजार रुपैयाँ शुल्क पुर्याइएको छ । १–१/२ इन्चको पाइपको शुल्क  ५ हजार रुपैयाँ रहेकोमा बढाएर १५ हजार रुपैयाँ पुर्याइएको छ ।  यसै गरी खानेपानीको महसुलमा पनि वृद्धि भएको छ । 

mahasul