विराटनगर । निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौँ र कोशी प्रदेश सरकार बिच विभिन्न उद्यमशीलता र रोजगार मुलुक कार्यक्रम गर्ने विषयको समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
कोशी
प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको उपस्थितिमा बिहीबार कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरे र मुख्यमन्त्री कार्यालय उपसचिव अर्जुनकुमार निरौलाले समझदारी पत्रमा हस्ताक्षर गरे । यो समझदारी पछि कोशी प्रदेशका नागरिकमा उद्यमशीलताको विकास र रोजगार सिर्जना गर्न सहयोग अपेक्षा राखिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
यो समझदारीले सर्वसुलभ कर्जा प्रवाह गर्न बैङ्क तथा वित्तीय संस्थालाई प्रोत्साहित गर्ने समझदारी पत्रमा उल्लेख्य छ । समझदारी पत्र हस्ताक्षर समारोहमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले यो समझदारीले प्रदेशमा रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । मुख्यमन्त्री कार्कीले अब प्रदेश नयाँ समझदारीका साथ अघि बढ्दा विकास र रोजगारीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रमुख सचिव केदारनाथ शर्माले यो समझदारीले नागरिकका अपेक्षा पुरा गर्न सहयोग गर्ने बताए ।
आगामी दिनमा प्रदेशमा नयाँ काम गर्न सहज हुने बताए । कार्यक्रममा कोषका कार्यकारी अधिकृत रमेशकुमार घिमिरेले कोशी प्रदेशमा युवा रोजगार ,घरेलु उद्योग विकास र उद्यमशीलता विस्तारलाई समझदारीले नयाँ ढोका खोलेको बताए ।
मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीले कोशी प्रदेशमा करिब एक हजार रोजगारी सिर्जना गर्ने गरी यो समझदारी गरिएको जानकारी दिए । उनले चाडै नै रोजगारीका लागी मन्त्रालय तहमा समझदारी गरी अघि बढ्ने बताए । प्रदेशमा १२ कक्षा उत्तीर्ण करिब एक हजार युवालाई तालिम दिई अनलाइन रोजगारी यसै वर्ष दिने प्रदेश सरकारको तयारी छ ।