विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको संसदीय बोर्डको बैठक आज बस्दै छ । ११ जना प्रदेश सभा सदस्य रहेको बोर्डको बैठक बस्न लागेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए । कोशी प्रदेश सरकारको काम कारबाही त्यस भित्र भई रहेका राम्रा र गर्नु पर्ने कामको बारेमा समीक्षा गर्ने गरी बैठक बस्न लागेको उनले बताए । दिउँसो ३ बजे बस्ने भनिएको एमाले संसदीय दलको संसदीय बोर्ड बैठकले संसदीय दलको बैठक बोलाउने बारे, प्रदेश सभाको बैठक लगायतको विषयमा पनि छलफल गर्ने जनाइएको छ। नेकपा माओवादी सरकारबाट बाहिरिएको र नेपाली काँग्रेस सरकारमा सहभागी नभई सकेको अवस्थामा बैठक बस्न लागेको हो । अहिलेसम्म भइरहेको कामको समीक्षा गर्ने भनिए पनि संसद् कहिले देखि बस्ने, अरू दलहरूसँगको समन्वय र सम्बन्ध कसरी कायम राखेर अघि बढ्ने विषयमा पनि छलफल हुने जनाइएको छ।