विराटनगर । कोेशी प्रदेश सभाको मिडिया सेन्टरमा बुधवार एउटा पत्रकार सम्मेलन भयो ।  पूर्व मुख्यमन्त्री केदार कार्कीले गरेको पत्रकार सम्मेलनको मुख्य उद्देश्य थियो, आफू नेतृत्वमा भएको बेला ल्याएका कार्यक्रम तथा बजेटहरू हिक्मतकुमार कार्की नेतृत्वको सरकारले काटिदियो भनेर बुझाउने ।  उनले तयार पारेर ल्याएको प्रेस विज्ञप्तिका ८–९ बुँदाहरू सकिएपछि उनले सरकारको आलोचना गर्दै भनेका थिए, ‘यो सरकारले बजेटमा सेटिङ गरेको छ।’ 

अहिलेको सरकारले बजेट कसरी सेटिङ गर्यो भन्ने उदाहरणमा पूर्व मुख्यमन्त्री कार्कीले चिया सम्मेलन कोलागि १५ करोड छुट्याएको भन्दै  उनले सरकारको आलोचना पनि गरेका थिए । कोशीमा चिया सम्मेलन गर्न झापा, इलाम लगायतमा कार्यक्रम गर्न ६ दिनको खर्च करिब १ करोड ६६ लाखमा  ५० जना विदेशी चिया खरिदकर्तालाई सगरमाथा हेलिकोप्टरबाट घुमाउन सकिने स्टीमेट आफूसँग रहेको दाबी गरेका थिए ।  अहिलेको सरकारले चिया सम्मेलन कोलागि १५ करोड छुट्याएर बजेटमा सेटिङ गरेको उनको आरोप थियो ।   ‘अहिले चिया सम्मेलन कोलागि भनेर १५ करोड छुट्ट्याइएको छ,  बजेटमा  सेटिङ नै सेटिङ भेटिन्छ,  पूर्व मुख्यमन्त्री कार्कीले भनेका थिए,  एक करोड ६६ लाखको साटो ३ करोड नै लाग्ला, हामीले १ करोड ६६ लाखमा इभेन्ट म्यानेजमेन्ट, टिकटको व्यवस्थापन गर्न भएको स्टीमेट मसँगै छ, यतै कतै छ, ताजै छ हैन दिवस जी ?’  उनको कार्यकालमा हुन लागेको चिया सम्मेलनको कार्यक्रम व्यवस्थापन गर्ने टोली कुन थियो भन्ने बारेमा केही खुलाएनन्  ।  

कार्कीले भनेका थिए, ‘विदेशीहरू हुन् हाम्रो सगरमाथा एक पटक परिवार सहित ल्याएर घुमाई पो हाल्छन् की भनेर सगरमाथा हेलिकप्टरबाट समेत घुमाउँदाको १ लाख ६६ हजारको स्टीमेट इभेन्ट म्यानेजमेन्टले बुझाएको थियो ।’ 

तथ्यमा चुकेका कार्की

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१-०८२ को बजेट तथा कार्यक्रम २०८१ असार १ गते नै सार्वजनिक गरेको थियो । बजेट ल्याएको एक महिना १७ दिन पछि बजेटको बारेमा बोल्न पत्रकार सम्मेलन गरेका पूर्व मुख्यमन्त्री कार्कीले बजेट तथा कार्यक्रम नै अध्ययन नगरेको पाइएको छ ।  कोशी प्रदेशमा चिया सम्मेलन गर्नको लागि १५ करोड छोट्ट्याएको. भनी उनले बोलेका कुराहरू सबै झुटा र हावादारी रहेको पुष्टि सरकारले सार्वजनिक गरेको कार्यक्रम पुस्तिकाले गर्छ ।

WhatsApp Image 2024-08-02 at 12.31.00 पूर्व मुख्यमन्त्री कार्कीले भनेको जस्तो १५ करोड बजेट छुट्याएको नभई १ करोड ५० लाख मात्र बजेट चिया सम्मेलनको लागि छुट्ट्याएको देखिन्छ । बजेट उपशीर्षक ३१२०००११ मा चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय झापाबाट खर्च गर्ने गरी खर्च सङ्केत नं. २२५२२ मा अन्तर्राष्ट्रिय चिया सम्मेलन कालागि भनेर १ करोड ५० लाख छुट्याएको स्पष्ट देखिन्छ ।   यस बारेमा थप तथ्य बुझ्न कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखराज  दाहाललाई सम्पर्क गर्दा उनले अन्तर्राष्ट्रिय चिया सम्मेलन कालागि एक करोड ५० लाख भन्दा बढी कुनै रकम नछुट्याएको सुनाए । 

केदार कार्कीले गरेको पत्रकार सम्मेलनमा चिया सम्मेलनको कुरालाई हावादारी तथ्यहीन रूपमा चिया सम्मेलनलाई व्याख्या गरेको आरोप उनकै  पार्टीका सांसदहरूले समेत लगाउँदै आएका छन् ।  मुख्यमन्त्री भइसकेको व्यक्तिले तथ्यमा रहेर बोल्नु पर्ने तथा तथ्यपरक विश्लेषण गर्नु पर्नेमा हावादारी कुरा गरेको भन्दै कार्कीको आलोचना भएको छ।