विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका आदिवासी जनजातिहरूको भाषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण र विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
३०औं विश्व आदिवासी दिवसको अवसरमा शुक्रवार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले आदिवासी जनजातिहरूको पहिचानलाई थप परिष्कृत बनाउन आफू लागिपरेको समेत बताए । ‘प्रथम सहिद लखन थापादेखि अहिलेसम्म भएका परिवर्तनका आन्दोलनमा आदिवासी जनजातिको योगदान स्मरणीय छ, उनले भने, दिवसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन र सुदृढीकरण तथा अधिकार प्राप्तिको अभियानमा निरन्तर सफलता मिल्ने विश्वास लिएको छु ।’ कोशी प्रदेश आदिवासी जनजातिहरूको ठूलो जनसंख्या भएको प्रदेश भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले आदिवासी जनजातिहरूको विभिन्न भाषा, संस्कृति, परम्परा र संस्कारले कोशी प्रदेशलाई समृद्ध बनाएको बताए ।
खुवालुङदेखि माङ्सेबुङ लगायतका पवित्र स्थलहरू प्रदेशका अमूल्य सम्पत्ति रहेकाले यस्ता धार्मिक धरोहरहरूको संरक्षण र संग्रहालयमार्फत समुदायहरूको पहिचानलाई वर्षौँसम्म चिरस्थायी बनाउन प्रदेश सरकारले काम गरिरहेको सन्देशमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घले सन् १९९४ को अगस्ट ९ बाट विश्व आदिवासी दिवस मनाउन सुरु गरेको हो । दिवसलाई आदिवासी तथा जनजातिहरूले अधिकार स्थापित गर्ने दिनका रूपमा मनाउँदै आएका छन् ।