इटहरी । कोशी प्रदेश सभाका सदस्यहरूले सुनसरीको इटहरीमा हुने डुबान तथा विपद् समस्या समाधान गर्नकोलागि आफूहरूले प्रदेशमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् । सुनसरीको इटहरीमा संसदीय पत्रकार मञ्च कोशी प्रदेशले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै सुनसरीबाट कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरूले पालिकाबाट तत्कालीन र दीर्घकालीन योजना माग गरे ।
अहिलेको विपद् तथा डुबान समस्या समाधान कोलागि इटहरी उपमहानगरपालिकाले समस्या समाधानको लागि अहिलेको अवस्था के हो, कसरी काम गर्ने, त्यसका लागि के के गर्ने भन्ने बारेमा तत्कालीन र दीर्घकालीन योजना लिएर आउन सांसदले आग्रह गरे । स्थानीय तहहरूको आवश्यकता एउटा प्राथमिकता अरू नै हुँदा समस्याको समाधान हुन नसकेको सांसदहरूले बताए । नेकपा एमाले संसदीय दलका कोशीका प्रमुख सचेतक रेवती रमण भण्डारीले इटहरीको पहिलो समस्या डुबान र बाढी भए पनि पालिकाले बसहरू खरिद गर्ने र अनावश्यक क्षेत्रमा खर्च गर्ने गरेको आरोप लगाए । उनले इटहरी डुबानको समस्या समाधान गर्नकोलागि अहिले देखिएको बन र स्थानीय तह बिचको ढुङ्गा गिटी बालुवा उत्खननको विषयमा हुँदै आएको विवाद समाधान गर्नु पर्नेमा जोड दिए । ‘बन र स्थानीय तहको विवादका कारण सेरा खोलाका ढुङ्गा गिटी बालुवा उत्खनन गर्न सकिएको छैन, उनले भने, यसको समस्या समाधान प्रदेश सरकारले गर्नु पर्छ त्यसको लागि मैले पहल गर्छु ।’ खोलामा थुप्रिएका ढुङ्गा गिटी बालुवा निकाल्ने तत्कालीन समस्या भएकोले दीर्घकालीन समाधान कोलागि पालिकाले यति लगानी गर्छु प्रदेश सरकारले यसमा यति लगानी गर्नु पर्यो भनेर योजना सहित आउँदा आफूले यो योजना सफल गर्न भूमिका खेल्ने भण्डारीको प्रतिबद्धता छ ।
अर्का प्रदेश सभा सदस्य रमेश बस्नेतले कानुनी समस्या देखिए कानुनी जटिलता समाधान गर्न संसदीय समिति मार्फत समाधान खोज्ने बताए । सांसद बस्नेतले एउटा निकायले मात्र डुबान र बाढीको समस्या गर्न नसक्ने बताए । ‘स्थानीय तहको योजनामा प्रदेशले सहयोग गर्ने हो, सङ्घीय सरकारले लगानी गर्नु पर्छ, प्रदेश सांसद बस्नेतले भने, त्यसको नेतृत्व इटहरी उपमहानगरपालिकाले गर्नु पर्छ, स्रोत परिचालनमा सबैको प्रतिविद्धताले नै काम पुरा गर्न सकिन्छ ।’ अरू वर्षहरूमा भन्दा यो वर्ष इटहरीमा डुबान समस्या कम हुनुको मुख्य कारण भनेको टेङ्ग्रा खोला सफाइले मात्र नभई सेरा खोला डाईभर्ट गर्दा कम समस्या आएको सुनाए । आफू प्रदेश सभा सदस्य प्रदेशभरिको नै भएकोले इटहरीको डुबानको समग्र समस्या समाधान कोलागि सङ्घीय सरकारसँग पहल गरिरहेको समेत बताए । सङ्घीय सांसदहरूलाई समेत एकै ठाउँमा राखेर छलफल चलाएको बस्नेतको भनाई छ।
प्रदेश सभा सदस्य मिना श्रेष्ठले इटहरी डुबानको मुख्य कारण भनेको चारकोेशे झाडी, टेङ्ग्रा खोला र सेरा खोला भएको बताइन् । डुबान कसरी र किन भइरहेको छ भन्ने बारेमा आफू त्यही क्षेत्रको सांसद भएकोले पनि धेरै कुरा थाहा भएको उल्लेख गरिन् । उनले प्रदेश सभाको पहिलो दिनको बैठकमा नै इटहरीको डुबान समस्याको विषय आफ्नो प्राथमिकतामा रहेको प्रतिबद्धता जनाएकोले त्यस बारेमा पटक पटक प्रदेश सभामा बोल्दै आएको बताइन् । समस्या समाधान गर्ने बारेमा प्रदेश सरकार समक्ष बजेकालागि योजना पेस गरेको भए पनि कतिपय योजनाहरू पुरा हुन नसकेको उनले सुनाइन् । आगामी दिनमा सबै मिलेर समस्या समाधानमा लाग्ने उनको प्रतिबद्धता छ ।
प्रदेश सभा सदस्य सपना दर्जीले इटहरी डुबानको समस्या समाधान कोलागि पार्टी भित्र पटक पटक प्रश्न उठाएको र योजना सहित अघि बढ्न दलका नेतालाई आग्रह गरेको बताइन् । ‘मैले प्रदेश सभामा पनि यो विषयको बारेमा बोल्दै आएको छु, उनले भनिन्, कतिपय समस्याहरू समाधानको पहलहरू भएका पनि छन्, कतिपय समस्या समाधान नभएका पनि होलान्, सबै मिलेर जाँदा हामीले समस्या समाधान गर्न सक्छौँ ।’ उनले इटहरीको डुबान समस्या समाधान गर्नकोलागि तत्कालीन योजनाले मात्र नहुने भन्दै इन्जिनियरहरू सहितको टोलीले दीर्घकालीन योजना बनाउन सुझाव दिइन् । दीर्घ कालिन समस्या समाधान कोलागि नीति बनाएर जाने बारेमा आफू प्रतिबद्ध रहेको समेत उल्लेख गरिन् ।
के चाहन्छन् इटहरी
इटहरी उपमहानगरपालिकाले तत्कालीन डुबान समस्या समाधान कोलागि केही काम सुरु भएको बताएको छ । टेङ्ग्रा खोला सरसफाई गर्दा कटानको समस्या देखिए पनि डुबान समस्या यो वर्ष कम भएको इटहरी उपमहानगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख पुष्पनारायण चौधरीले जानकारी दिए ।उनका अनुसार चारकोशे झाडी र सेरा खोलाको पानी ब्लक हुँदा राजमार्ग उत्तरमा समस्या रहेको छ भनेँ टेङ्ग्रा खोलाका कारण दक्षिणमा डुबान समस्या हुँदै आएको छ। अहिले इटहरीमा ७ वटा साईफन रहेको जानकारी दिँदै चौधरीले साईफन, कलभर्ट ब्लक हुँदा समस्याहरू देखिएको उनले सुनाए। अहिले पूर्व पश्चिम राजमार्ग, नहर लगायतमा क्षेत्राधिकार विवादका कारण काम गर्न समस्या रहेको समेत चौधरीको भनाई छ। नागरिकमा सचेतनाको कमी रहेको औँल्याएको उपमहानगरपालिकाले अघिल्लो वर्ष नाली सफा गर्यो अर्को वर्ष नागरिकले उस्तै फोहोर पारेर बन्द गराइदिँदा पनि समस्या भएको उनको ठम्याई छ । पालिकाले विपद् व्यवस्थापन ऐन तथा खोलाको अधिकार सम्बन्धी ऐनलाई कडाइका साथ कार्यान्वयनमा लिएर गएको उनको दाबी छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उमेश सुबेदी, वडा नम्बर ५ का भीष्म घिमिरे, वडा नम्बर ६ का अध्यक्ष दिवस पोखरेल, वडा नम्बर १७ का अध्यक्ष प्रभात आचार्यले टुक्रे प्लटिङका कारण डुबान र कटानको समस्या इटहरीका जनताले खेप्दै आएको बताए । पानी बग्ने बाटोहरू सबै विभिन्न नाममा बन्द भएका छन्, त्यसको असर सहर डुबानमा देखिएको उनको भनाइछ । खोला सफाइ, नाला व्यवस्थापन नभएको अवस्थामा समस्या भएको उनीहरूको भनाई छ। वडा अध्यक्ष सुबेदीले सडक भन्दा दक्षिणमा बढी समस्या रहेकोले योजना बनाइँदा दक्षिण तर्फबाट नाला निर्माण गरेर जान सकिए केही समस्या हल हुने जिकिर गरे ।
हरेक घरमा पानी सोस्ने ठाउँ
नेपाली काँग्रेसका इटहरी नगर सचिव विक्रम घिमिरेले आकाशकै पानीले पनि समस्याहरू निम्त्याउन थालेको बताए । बनेका संरचनाहरू पानी सोस्ने खालका हुनु पर्ने बताएका उनले एउटा घर निर्माण गर्दा पानी सोस्ने ठाउँलाई अनिवार्य गर्नु पर्नेमा जोड दिए । उनले नाली निर्माण गर्दा भित्री भाग ढलान गर्न नहुने व्यवस्था गरेर जान आग्रह गरे । नागरिक समाजका अध्यक्ष बालिका भट्टराईले अव्यवस्थित प्लटिङ नियन्त्रण गर्ने नीति अवलम्बन गर्न सुझाव दिइन् ।
कार्यक्रममा सहभागी सुनिल कार्की तथा निराजन खड्काले पालिकाले आवधिक योजना बनाउनु पर्ने, विपद् व्यवस्थापन समितिले आफ्नो अधिकारको प्रयोग गर्नु पर्ने, जोखिम विश्लेषणको कामलाई प्रभावकारी बनाई योजना निर्माण गर्न सके राहत वितरणमा मात्र केन्द्रित हुनु पर्ने समस्या हल भएर जाने तर्क गरे । इटहरीको लायन्स भवनमा भएको कार्यक्रममा इटहरी भित्रका ५० भन्दा बढीको सहभागिता रहेको थियो ।