विराटनगर । विराटनगरको सिँघिया खोलास्थित परोपकार घाटमा आरी सुरु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सिंघिया नदी आरतीले नेपाली समुदाय बीच सद्भावको सन्देश प्रभाव हुने बताए । सिंघिया नदी आरतीको शुभारम्भ गर्दै कार्कीले प्रदेश सरकारले यो आरती ३६५ दिन नियमित सञ्चालनका आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।मुख्यमन्त्री कार्कीले यस परोपकार धामको आवश्यक जीर्णोद्धार एवं थप भौतिक पूर्वाधार निर्माण गर्न प्रदेश र स्थानीय सरकारले सहयोग गर्ने बताए । उनले यस क्षेत्रमा आरती सञ्चालनले धार्मिक पर्यटकको आगमनमा समेत वृद्धि हुने विश्वास व्यक्त गरे ।
परोपकारमा शुक्रवार देखि सोमबारसम्म हरेक दिन साँझ ५ः३० बजे आरतीको कार्यक्रम हुनेछ । चार दिनको महाआरती कार्यक्रम पछि हरेक शुक्रवार साँझ नियमित रूपमा आरती कार्यक्रम गरिने जनाइएको छ । आरती शुभारम्भमा विभिन्न विपद्, बस दुर्घटना, सौर्य एयरलाइन्स र डाईनेष्टी एयर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झना गरिएको छ।
शुभारम्भमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला सहित विराटनगरका विभिन्न वडाका वडाध्यक्ष, कटहरी, वुढीगंगा , ग्रामथान गाउँपालिका र छिमेकी भारतीय सहरका धर्मावलम्वीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
४५ मिनेटको आरती कार्यक्रमका लागि १५० महिला भजन मण्डलीको सहभागी रहेका थिए । सिंघिया आरती कार्यक्रमका लागि पण्डित गोकुल भण्डारीको नेतृत्वमा पाँच जनाले नियमित अभ्यास गरिरहेका छन् । आरती सेवा सञ्चालनका लागि २५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।