इटहरी । खहरे नियन्त्रण गर्न कोशी प्रदेश सरकारले बनाएको ग्याबिन जाली भत्काउन संलग्न रहेको भनिएका धरानका नगर प्रहरीका असई सुरेश मग्रातीलाई प्रहरीले पक्राउ गरेको छ ।
धरान वडा १३ अमर बस्ती (क) खहरेमा कोशी प्रदेश सरकारले बनाएको ग्याबिन जाली भत्काउने कार्यमा संलग्न रहेको आरोपमा धरान उपमहानगरपालिका नगर प्रहरीका असई सुरेश मग्रातीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले आज बिहान मग्रातीलाई पक्राउ गरेको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीन कृष्ण भण्डारीले जानकारी दिए । पक्राउ गरिएका असई मग्रातिलाई इनरुवा लगिएको छ ।
मग्रातीलाई प्रहरीले शुक्रवार नै पक्राउ गर्न उपमहानगरपालिका पुगेको थियो । तर नगर प्रमुख हर्क साम्पाङले आफै आइतबार असई मग्रातिलाई बुझाउने बताए पछि प्रहरी फर्किएको थियो । सोही अनुसार आज जिल्ला प्रहरी कार्यालयबाट आएका प्रहरीले मग्रातीलाई पक्राउ गरेको हो ।
सार्वजनिक सम्पत्ति ग्याबिङ भत्काएकोमा बुधवार साँझ धरान १३ का ४३ वर्षीया भारती राई, ३५ वर्षीया राज कुमार राई र ३० वर्षीया पारु राईलाई पक्राउ परेका थिए । पक्राउ पर्ने ३ नै जनालाई आपराधिक उपद्रव मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भण्डारीले जानकारी दिए ।
उपभोक्ता समितिमार्फत प्रदेश सरकारको २० लाख बजेटबाट खहरे खोलाको पूर्वतर्फ ग्याबिङ जाली लगाइएको थियो ।