इटहरी । मोरङको बेलबारी–३ करमडाँडामा हात्तीको छावा मृत अवस्थमा फेला परेको छ । स्थानीय अनिता थापा र रेखा थापाको निजी वनमा २। ३ बर्षको देखिने जंगली हात्तीको छावा मृत फेला परेको हो ।
हात्तीको छावा मारिएको हो कि, आफैं मरेको हो भन्नेबारे अनुसन्धान भइरहेको सब डिभिजन वन कार्यालय बेलबारीका प्रमुख, वन अधिकृत दिपेशकुमार मिश्रले जानकारी दिए ।
मिश्र घटनाका बारेमा कोशी टप्पु वन्यजन्तु आरक्षलाई खबर गरिसकिएको र अनुसन्धानपछि मात्रै सबै कुरा प्रष्ट हुने जानकारी दिए । सुनसरीस्थित कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली पनि घटनास्थल आउने क्रममा रहेको जनाइएको छ ।
सब डिभिजन वन कार्यालय बेलबारी, इलाका प्रहरी कार्यालय बेलबारी र सशस्त्र प्रहरी बल बेसक्याम्प लक्षीमार्गकोे टोलीले घटनास्थल पुगेर मुचुल्का उठाउन सुरु गरिएको छ ।
यससँगै मोरङमा सात महिनाको अवधिमा तीन वटा जंगली हात्ती मृत फेला परिसकेका छन् ।