विराटनगर । लायन्स क्लब अफ विराटनगर एलिटको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विराटनगरमा वर्ष २०२४- २०२५ का पदाधिकारीहरूको पदस्थापन गरिएको हो । सो अवसरमा क्लबका वर्ष २०२३–२४ की प्रेसिडेन्ट डा मिनाक्षी बस्नेतले वर्ष २०२४–२५ का प्रेसिडेन्ट शकुन्तला भट्टराईलाई जिम्मेवारी हस्तान्तरण गरिन ।
कार्यक्रममा वर्ष २०२३–२४ की प्रेसिडेन्ट डा .मिनाक्षी बस्नेतले आफ्नो कार्यकालमा भएका महत्त्वपूर्ण कार्यका बारेमा बताइन् । लायन्स क्लब अफ विराटनगर एलिटले श्रवण शक्ति कम भएका ५ जनालाई हेयरिंग एड डिभाइस प्रदान गरेको छ । यसै गरी आर्थिक अवस्था कमजोर भएका २ जना महिलाहरूलाई स्वरोजगार बनाउन तालिम समेत दिन थालेको छ ।
आर्थिक अवस्था कमजोर भएका शोभा दाहाल र कञ्चन पोख्रेललाई उद्यमशील बन्नका लागि सिलाई कटाई तालिम दिन थालिएको वर्ष २४-२५ का प्रेसिडेन्ट शकुन्तला भट्टराईले बताइन् । उनले ती महिलाहरूलाई उद्यमशील महिला चौतारीको सहकार्यमा निःशुल्क सिलाई कटाई तालिम दिइएको बताइन् ।
यस्तै क्लबले ३ जना बालबालिकालाई छात्रावृती समेत दिएको छ । पूर्वाञ्चल सेवा आश्रममा बस्दै आएका २ जना र जनजाति कल्याण आश्रममा बस्दै आएका एक जनालाई क्लबले छात्रावृती दिएको हो ।
सन् २०१८ मा स्थापना भएका क्लबले यस अघि पनि स्वास्थ्य शिविर, दन्त शिविर लगायतका विभिन्न सामाजिक काम गर्दै आएको छ । सामाजिक सेवामा समर्पित रहेको लायन्स क्लब अफ विराटनगर एलिटमा विभिन्न क्षेत्रका व्यत्तिहरुको सहभागितामा छ । सो क्लबको वर्ष २०२४- २५ का लागि सेक्रेटरीमा कविराज दाहाल,सेकेण्ड भाइस प्रेसिडेन्ट डा दिपेन्द्र नौलखा,कोषाध्यक्षमा डा सन्जीदा खातुन निर्वाचित भएका छन् ।
पदस्थापन कार्यक्रम डिस्ट्रिक्ट ३२५ –सी का गभर्नर लायन विकास अधिकारीको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको हो । कार्यक्रममा अन्य क्लब र जिल्लाका लायन पदाधिकारीहरूको सहभागिता रहेको थियो ।