विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाको कारबाही फुकुवा भएको छ। नेकपा एमाले कोशी प्रदेश कमिटीले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापा माथिको २ महिनासम्मको निलम्बन फुकुवा भएको जानकारी गरिएको हो ।
नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले विराटनगरको मानगढ खानेपानी उपभोक्ता समितिको निर्वाचनसँग जोडिएका विषयलाई अनुमोदन गरेको जानकारी दिए । विराटनगर महानगरका अध्यक्ष थापा सहित ३ जनाको सदस्यता निलम्बनमा परेकोमा थापाको निलम्बन फुकुवा भएको, अन्य दुई जना मध्ये एक जनाको ४ महिना र एक जनाको ६ महिनासम्म निलम्बन कायम रहने जिल्लाको निर्णयलाई प्रदेशले अनुमोदन गरेको खतिवडाले बताए ।
‘मानगढ खानेपानी उपभोक्ता समितिका विषयलाई लिएर केही समस्या उत्पन्न समस्या आएकै हो, सागर जी लगायतलाई जिल्ला कमिटीले कारबाही गरेको विषयमा उहाँहरूले प्रदेश कमिटीमा अपिल गर्नु भएको थियो, अध्यक्ष खतिवडाले भने, प्रदेश कमिटीले छानबिन गरेपछि जिल्लाले गरेको निर्णयमा सागर जीको हकमा दुई महिना भइसकेकोले त्यसको हकमा सदस्यता निलम्बन गर्नु पर्ने अवस्था नरहेकोले कारबाही फुकुवा भइसकेको छ।’ पार्टीको नीति विधि र सिद्धान्त बाहिर गएको, नगर अध्यक्षले कन्ट्रोल गर्दा गर्दै नसकेको, जिल्लाले नगर्नु भन्दा भन्दै पार्टी विपरीतका गतिविधि गरेकोले एक जनालाई चार महिना र अर्को उम्मेदवारलाई ६ महिना कारबाही गर्ने जिल्लाको निर्णयलाई अनुमोदन भएको प्रदेश अध्यक्ष खतिवडाले जानकारी दिए । कार्यदलले दिएको सुझावको आधारमा कार्यकर्तालाई कारबाही भन्दा पनि सचेत मात्र गराइएको खतिवडाको प्रस्टीकरण छ ।
नेकपा एमाले जिल्ला कमिटीले मानगढ खानेपानी उपभोक्ता समितिको निर्वाचनमा पार्टी विपरीतको गतिविधि गरेको भन्दै नगर अध्यक्ष थापा सहित सह–सचिव नवराज नेपाल र नेकपा एमाले वडा नम्बर ३ का अध्यक्ष तथा मानगढ खानेपानी उपभोक्ता समितिका उम्मेदवार लालमणि भट्टराईलाई साधारण सदस्यबाट समेत निलम्बन गरेको थियो । कारबाही विरुद्ध थापा सहितले नेकपा एमाले प्रदेश कमिटीमा अपिल गरेका थिए । शनिवार बसेको प्रदेश कमिटीको बैठकले थापाको दुई महिनासम्मको निलम्बनलाई कायम राख्दै कारबाही फुकुवा गरेको छ । नेपाललाई ४ महिना र भट्टराईलाई ६ महिनासम्मको जिल्ला कमिटीको कारबाही गर्ने निर्णयलाई अनुमोदन गरेको छ ।