धनकुटा । बसाइँसराइ मानवीय प्रक्रिया हो तर पछिल्लो समय पहाडी क्षेत्रबाट बसाइँसराइ उच्च हुँदा गाउँ सुनसान बन्ने क्रम बढेको छ । यसैको उदाहरण हो- धनकुटाको तेलिया गाउँ । छिमेकी, आफन्त र नातागोताले पुर्खौली थातथलो छाडेपछि बसिरहेकाहरूको व्यवसायिक र सामाजिक जीवन तहसनहस छ । जाने त गइहाले, गाउँमै रहेकाहरूलाई जन्ती र मलामी धान्न गाह्रो छ ।

धनकुटा छथरजोरपाटी गाउँपालिका तेलियाकी मनमाया शिवभक्ति ८१ वर्ष पुग्नुभयो । १३ वर्षमै बिहे गरेर आउँदाको रमझम यो गाउँमा अब बाँकी छैन् । बसाइँसराइले गाउँ पातलिएर घर एक्लो बनेको छ । मूलबाटो, पाटीपौवा र चौतारामा मान्छेको खल्याङमल्याङ सुनिदैन । दुःख बिराम र मर्दापर्दा साथ दिने मान्छे पाउँनै मुस्किल छ ।

छरछिमेक र बस्तीका प्राय सबैले गाउँ छोडे पछि धुरी उध्रिएका घरमा ताला लागेका छन् । धेरै घर भत्किएर भग्नावषेश मात्रै बाँकी छन् । जाने त गइहाले जो गाउँमै बसिरहेका छन्, दुःख सुखमा साथदिने छरछिमेक नहुँदा पर्ने अप्ठेरो भनिसाध्य छैन् ।

छिमेकी बसाइँ सरेर गएपछि जन्ती र मलामी त टाढिएका छन् भने वन्यजन्तुको बिगबिगी बढेर गरिखाने अवस्था छैन् । त्यसो त बसाइँसराइलाई निरुत्साहित गर्न र गाउँमै अवसरहरु सृजना गर्न स्थानीय तहले सक्रियता बढाएको छ । तर गाउँ छाडेर हिड्नेलाई रोक्न पालिकाहरु सफल भएका छैनन् ।

धनकुटा तेलियाको यो प्रसंगले मुलुकको हिमाली र पहाडी क्षेत्रबाट तराइमा भइरहेको बसाइँसराइले गाउँमा छाड्ने पीडादायक प्रवृत्तिको प्रतिनिधत्व गर्छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सम्बन्ध र समानता खोज्दै तराई झर्ने क्रम तीव्र बन्दै जाँदा हिमाली र पहाडीक्षेत्रका बस्ती यसरी नै शून्य बन्दै गएका छन् ।