विराटनगर । तेह्रथुम सरोकार समाज विराटनगरले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरेको छ । विराटनगरमा एक कार्यक्रमको आयोजना गरी दोस्रो स्थापना दिवसका अवसरमा मुख्य सचिव लीलादेवी गड्तौलालाई उच्च ओहदामा पुग्ने तेह्रथुम जिल्लाको गौरवको रूपमा सम्मान गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत तेह्रथुमको गौरवका रूपमा पटक पटक प्रधानमन्त्री भई देशको नेतृत्व गरेकोमा प्रमुख सचिव  गड्तौला मार्फत सम्मान पत्र पठाएको समाजका महासचिव उत्तम बहादुर चम्लागाईले जानकारी दिए । प्रमुख सचिव मार्फत तेह्रथुमको विकासमा लम्वुघाटको पुल यथाशीघ्र सम्पन्न गरी विराटनगर–तेह्रथुमको दुरी घटाउन प्रधानमन्त्रीलाई माग गरिएको उनको भनाई छ। 
नेपाल सरकारका मुख्य सचिव गड्तौलाले काठमाडौँ पुग्नसाथ भौतिक विकास मन्त्रालयसँग छलफल गरी लम्वुघाटको पुल, मध्यपहाडी राजमार्गको कालोपत्रे हुन बाँकी रहेको  ३७ किलोमिटर  सडक र झापाको हुलाकी सडकको विषयमा के भएको हो जानकारी लिने प्रतिबद्धता जनाइन्  । 
अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले  भाण्टावारीको वेली वृज जस्ताको त्यस्तै सारेर भए पनि  लम्वुघाटको पुलको समस्या समाधान गर्न सकिने सुझाव दिए । 
समाजका कार्यवाहक अध्यक्ष दीप बहादुर खापुङको अध्यक्षता र नेपाल सरकारका मुख्य सचिव लीलादेवी गड्तौलाको प्रमुख आतिथ्य र   मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, प्रा.डा.केशव गड्तौला, डा.धर्म ढकाल, राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख खेमराज ओझा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विश्वनाथ वेस्रा र मञ्जु खड्काको उपस्थिति रहेको कार्यक्रमको संचालन समाजका महासचिव उत्तम चम्लागाईँले गरेका थिए ।