विराटनगर । प्रहरीले सुनसरीको गढीमा हत्या भएका व्यक्तिको सम्बन्धमा एक जनालाई पक्राउ गरेको छ। भदौ ३ गते बिहान  सुनसरी गढी गाउँपालिका वडा नम्बर २ थलाहामा एक व्यक्तिको हत्या भएको थियो ।   घरमा शरीर मात्र फेला परेको र करिब २०० मिटर उत्तर तर्फ टाउको प्रहरीले फेला पारेको थियो । हत्याको सम्बन्धमा कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर,  जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले  हत्या भएका व्यक्ति र हत्यामा संलग्नको पहिचान गरेको हो ।  हत्या भएका व्यक्ति सुनसरीको गढी गाउँपालिका ६ का  ४६ वर्षीय  ज्ञानचन रिषिदेव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  उक्त घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा गढी गाउँपालिका  २ सखुबारे टोलका  ३० वर्षीय  चन्दन रिषिदेवलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।  प्रहरीले घटनाको बारेमा गरेको प्रारम्भिक अनुसन्धानबाट  कोदालो (फरुवा) ले पटक–पटक प्रहार गरी टाउको छिनाई हत्या गरेको प्रहरीको दाबी छ।  पक्राउ परेका रिषिदेवलाई नियन्त्रणमा लिई सुनसरी जिल्ला अदालतबाट  ५ दिनको म्याद थप गरेर अनुसन्धान थालेको छ।